शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रवार मल्टीप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्म शनिवार बिहानैदेखि देशभर हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । विशेषगरि फिल्म हेर्ने दर्शकको चाप मल्टीप्लेक्समा राम्रो छ ।
आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्मलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ । शुक्रवार फिल्मका कलाकार, निर्देशक र निर्मात्री राजधानीका विभिन्न हल पुग्दा दर्शकहरु फिल्म हेरेर भावुक हुँदै फर्किएका थिए । दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको प्रशंसा गरेका छन् । प्रायः दर्शकले फिल्मलाई ‘मास्टरपिस’ भनेका छन् ।
फिल्म हेर्न युवा वर्गका दर्शकहरु आमालाई साथ लिएर हल पुगेका छन् । फिल्मको वितरणको जिम्मा लिएका करण क्रेजीले फिल्म हेर्न हलमा नयाँ दर्शक बढी देखिएको बताए । परिवारसँग फिल्म हेर्न आउने दर्शकको उपस्थिति बाक्लो रहेको उनको भनाई छ । उनले फिल्मको शुक्रवारको कमाईबाट सन्तुष्ट रहेको बताउँदै शनिवारबाट हलमा दर्शकको ‘फ्लो’ बढेको जानकारी दिए ।
उनका अनुसार, फिल्मले प्रदर्शनको दिन देशभर गरि ५४ लाख ग्रस कलेक्सन गरेको छ । शुक्रवारको तुलनामा शनिवार फिल्मले दोब्बर कमाई गर्ने उनको विश्वास छ । उनी ‘आमा’ आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट वितरण रहेको बताउँछन् । निर्देशक दीपेन्द्र के. खनालले दर्शकले फिल्मलाई शब्दमा व्यक्त गर्न नसकेको बताए । उनी फिल्म हेरेर दर्शक निःशब्द भएको बताउँछन् ।
त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले दर्शक रुवाएकोमा दुःख लागेपनि मनदेखि नै दर्शक रोएको देख्दा खुशी लागेको बताइन् । निर्मात्री शर्मिला पाण्डेले ‘आमा’ जस्तो फिल्म अब आफूले बनाउन नसक्ने बताइन् । माउथ पब्लिसिटी बलियो भएका कारण यो फिल्म हलमा लामो रेसको घोडा बन्ने देखिएको छ । फिल्मको इनिसियल व्यापारमा भने ‘सेन्टी भाइरस’ ले ठूलो असर गरेको छ ।
फिल्ममा सुरक्षाका अलावा मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो । ‘आमा’ हेरेपछि समीक्षकले निर्देशक दीपेन्द्र के. खनाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशनको ट्याग दिएका छन् । यो फिल्मको कथा र छायांकन पनि उनी स्वयंको हो ।

