
नेपाली फिल्ममा गायकबाट नायकको रुपमा फड्को मार्नेको संख्या ठूलो छ । तर, स्थापित गायकलाई फिल्ममा भने दर्शकले स्वीकार गरेका छैनन् । रामकृष्ण ढकाल, बाबु बोगटी, यश कुमार, कोशिश क्षेत्रीलगायत थुप्रै गायकले नायकको रुपमा स्थापित हुन प्रयास गरे पनि सफल भएनन् । यसबीच, फेरि एक गायक नेपाली फिल्मको हिरो बनेका छन् । उनी हुन्, प्रेम परियार ।
विकासराज आचार्यको फिल्म ‘नाईं नभन्नू ल २’ को ‘मर्ने कसैलाई रहर हुँदैन’ जस्तो चर्चित गीत गाएर चर्चामा आएका उनी फिल्म ‘पर्खी बसे फर्की आउँछु’ बाट हिरो बनेका हुन् । आफ्नो गायन कलाले मन्त्रमुग्ध बनाउने उनले केही वर्षयता आवाजमा आएको परिवर्तनका कारण गीत गाउन कम गरेका थिए । अब, उनी अभिनयको माध्यमबाट दर्शकको मन जित्न अगाडि सरेका छन् ।
फिल्ममा उनको अभिनयसँगै गायन पनि रहनेछ । केही दिनअघि फिल्मको शीर्ष गीत रेकर्डिङ गरिएको छ । जसमा गायक प्रेम परियारले स्वर दिएका छन् । सुन्दर पन्तको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रेमलाई सवनम आचार्यले गायनमा साथ दिएकी छन् । गायक प्रेमले आफ्नो अभिनय रहेको फिल्मको गीतमा आफैंले स्वर दिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
निर्देशक राज बहादुर सानेले एउटी अपाङ्ग युवतीको यौवन अवस्थामा हुने रहर र जीवन संघर्षको कथा फिल्मले बोल्ने बताए । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी छ । बसन्त सापकोटा/एलिस कार्की/कृष्ण भारद्वाज/कर्साङ्ग लामाको संगीत र सानु कुमार महर्जनको द्वन्द रहेको फिल्मलाई अरुण सुनारले खिचेका हुन् ।
रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज वि.क कार्यकारी निर्माता रहेका छन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको फिल्ममा प्रेमसँगै समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेललगायतको अभिनय छ । यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ । निर्देशक राज बहादुर सानेले फिल्म राम्रो बनेको दाबी गरेका छन् ।

