नेपाली फिल्म क्षेत्रमा लगभग तीन दशकसम्म कलाकार तथा निर्माताका रूपमा सक्रिय भएर काम गरेका केशव भट्टराईको असामयिक निधनले सबैलाई बिक्षिप्त बनाएको छ। भट्टराईले यो संसार छाडेर जाँदा उनको परिवार झन् बिक्षिप्त बनेको छ।
.jpg)
अल्पायुमै असमाहिक निधन हुँदा कलाकार तथा निर्माता भट्टराईकी श्रीमती र छोरामा मानसिक पीडासँगै आर्थिक पीडा पनि आईलागेको छ। बर्षौंदेखि फिल्म क्षेत्रमा आफ्नो योगदान दिंदै आएका भट्टराईले आफ्नो परिवारलाई निकै नै गर्हौं ऋणको भार छोडेर गएका छन् जुन तिर्न सक्ने अवस्थामा परिवार छैन।
'आफ्नो मान्छे', 'छोडी गए पाप लाग्ला', 'देवर बाबु'लगायतका हिट फिल्म निर्माण गरेका भट्टराईलाई उनका पछिल्ला केही फिल्मले साथ दिएको थिएन। 'सो सिम्पल’, ‘ब्रासलेट’ तथा 'यात्रा' फिल्मबाट भट्टराईलाई आर्थिक भार परेको थियो।
पछिल्लो समय चलचित्र बिकास बोर्डको अध्यक्ष भएर काम गरेका भट्टराईको परिवारलाई लागेको ऋणको भार कम गर्दिन नेपाल तथा बिदेशमा रहेका फिल्मकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तक लागि परेका छन्। यही शिलशिलामा अमेरिकामा बस्दै आएका फिल्मकर्मी र सञ्चारकर्मीहरूले भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग अभियान चलाएका छन्।

निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेलले उक्त सहयोग अभियानको संयोजन गरेका छन्। देशप्रेम र कला प्रेमको भावनालाई न त कुनै भुगोलले न त कुनै पर्खालले छेक्न सक्छ भन्दै सात समुन्द्र पारी रहेर पनि आफूहरू सदैव नेपाली कला, संस्कृति र कलाकर्मीहरुको सामिप्यमा रहेको भन्दै सहयोग अभियान शुरू गरेको दर्पणले फिल्मीखबरलाई बताए। उनका अनुसार हालसम्ममा करिब करिब नौ लाख रुपैयाँ उठिसकेको छ। हालसम्म सहयोग गर्ने फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको नाम तल राखिएको छ।
फेसबुक म्यासेन्जरमा प्राईभेट ग्रुप बनाएर सहयोग अभियान सञ्चालन भइरहेको र अमेरिकामा बसोबास गरिरहनु भएका कुनैपनि कलाकर्मीहरुले सहयोग गर्न छुटाउनुभएको छ भने यो अभियानमा हातेमालो गर्न निर्देशक पोखरेलले अनुरोध गरेका छन्।
यसअघि पनि अमेरिकामा बस्दै आएका कलाकर्मीहरूले क्यान्सर पीडित कलाकार स्वर्गिय दीपक क्षेत्रीलाई उपचार सहयोगार्थ करिब १० लाख रूपैंयाँ सहयोग गरेका थिए। कलाकार क्षेत्रीको गत मंसिरमा निधन भएको थियो।


