जीवन्त अभिनयका कारण कलाकार बुद्धि तामाङ दर्शकमाझ निकै लोकप्रिय छन् । रंगमञ्चबाट अभिनय यात्राको थालनी गरेका उनी ‘मेरी बास्सै’ मा अभिनय गरेपछि रातारात चर्चामा आए । यो सिरियलमा उनले बोलेको ‘हैट’ थेगो धेरै दर्शकको मुखमा झुण्डियो । त्यसपछि उनको माग नेपाली फिल्ममा ह्वात्तै बढ्यो । अहिले उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुने गर्दछ ।
केही वर्षयता कलाकार बुद्धि प्रायः बाह्रै महिना फिल्मको सुटिङमा व्यस्त हुने गरेका छन् । आफू अभिनीत फिल्म प्रदर्शनको संघारमा रहँदा उनी प्रचारमा पर्याप्य समय दिन पनि भ्याउँदैनन् । महिना दिनमै तीनवटासम्म फिल्मको छायांकन भ्याउने उनीमाथि अहिले संख्यात्मक अभिनयमा जोड दिएको र पैसामुखी भएको आरोप लाग्ने गरेको छ । उनी पनि यो कुरा नकार्दैनन् ।
मंगलवार फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार बुद्धिले भने- ‘मैले संख्यात्मक रुपमा धेरै फिल्म गरेको यथार्थ हो । तर, मैले संख्यात्मक हिसाबमा धेरै फिल्म गर्नुमा मेरो आफ्नै ‘फिलोसफी’ (दर्शन) छ । म कलालाई राम्रो र नराम्रो भनेर ‘जजमेन्ट’ गर्न सक्दिनँ । मलाई कन्सेप्ट मनपर्यो र समय मिल्यो भने फिल्म गर्छु ।’
.jpg)
उनी अहिले नेपाली फिल्म क्षेत्रमा भैरहेको ‘प्राक्टिस’ लाई आफूले सकारात्मक रुपमा लिएको बताउँछन् । अहिले नेपाली फिल्मकर्मीले गरेको ‘प्राक्टिस’ हेर्दा भविष्यमा स्तरिय फिल्म बन्नेमा आफू आशावादी रहेको उनले बताए । आफू पूरा फिल्म बोक्ने कलाकार नभएको बताउँदै उनले थपे- ‘म एउटा सपोर्टिङ एक्टर हुँ । मैले गर्दा फिल्मको कथालाई सपोर्ट हुन्छ भने काम गर्छु ।’
कलाकार भएपछि संख्यात्मक हिसाबमा धेरै फिल्म गर्नु राम्रो नहुने उनलाई पनि लाग्दोरहेछ । ‘कुनै फिल्म असफल भयो भने मेरै कारणले पो होकि भन्ने सोच्छु । तर, असफलताले अर्को सुत्र पहिल्याउन सघाउँछ जस्तो मलाई लाग्छ । फिल्मकर्मीलाई पनि एक प्रकारको ‘प्राक्टिस’ हुन्छ,’ उनी सुनिए । तर, कलाकार बुद्धि आफू पैसामुखी भएको आरोप स्वीकार गर्ने पक्षमा देखिएनन् ।
पैसाकै लागि धेरै फिल्म गरेको भए अहिलेसम्म काठमाडौंमा ‘बुद्धि निवास’ ठडिसकेको हुने उनको तर्क छ । ‘मैले धेरै फिल्म पैसा कमाउनका लागि गरेको होइन । मैले गर्दा फिल्मको कथालाई न्याय हुन्छ भने काम गर्छु । भ्याएसम्म र मिलेसम्म आराम नगरि फिल्ममा काम गर्ने मेरो उद्देश्य हो,’ उनले भने । उनी अभिनीत नयाँ फिल्म ‘सेन्टी भाइरस’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।

