Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निफमा ‘बुलबुल’ लाई सर्वाधिक अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2020/02/18
नेपालको तर्फबाट अस्कार अवार्डमा समेत सहभागिता जनाएको विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डबल ह्याट्रिक अर्थात् ६ वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ । सोमवार समापन फेस्टिभलमा फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो ।
 
‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले पटकथा र निर्देशकको विधामा अवार्ड हात पार्दा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड उचालिन् । जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले प्राप्त गरे । यो फिल्मले यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिरहेको छ । यद्यपि, फिल्म भने बक्सअफिसमा असफल भएको थियो । 
 
 
पाँच दिनसम्म राजधानीमा चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले प्राप्त गर्दा इन्टरनेसनल सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ ले आफ्नो पक्षमा पारेको छ । नेपाली सर्ट फिल्मतर्फको अवार्ड ‘कलम’ ले जित्दा यही फिल्मबाट निर्देशक प्रविनकुमार राउत जुरीको नजरमा उत्कृष्ट ठहरिए । 
 
सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ ले पाउँदा बहुपति प्रथाको कथामा बनेको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ ले डकुमेन्ट्री विधातर्फ माउन्ट एभरेस्ट अवार्ड नामको १ हजार अमेरिकी डलर राशीको अवार्ड जित्यो । भने, मञ्जुश्री अवार्ड नाम दिइएको ७ सय अमेरिकी डलर राशीको एनिमेटेड विधाको अवार्ड चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ ले पायो । 
 
अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट ठहरियो । यसमा भारत-पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा भनिएको छ । बागमती अवार्ड नामको यो पुरस्कारको राशी ५ सय अमेरिकी डलर थियो । निफको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ ले आफ्नो पोल्टामा पार्‍यो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर पाएको छ । 
Most Visited News (monthly)