.jpg)
चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स विक्री भएको छ । ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित फिल्मको अष्ट्रेलिया राइट्स बाबा कन्सल्टेन्सीले २५ हजार अष्ट्रेलियन डलर (नेपाली १९ लाख १८ हजारभन्दा बढी) मा खरिद गरेको हो । सोमवार बाबा कन्सल्टेन्सीले निर्माता अर्जुन कुमारसँग कागजी सम्झौता गरेको छ ।
महँगो मूल्यमा फिल्मको अष्ट्रेलिया राइट्स विक्री हुनुलाई निर्माता अर्जुन कुमार ‘चपली हाइट’ ब्रान्डप्रतिको विश्वास बताउँछन् । उनले अन्य देशमा पनि फिल्मको माग भैरहेको बताए । केही दिनअघि सार्वजनिक भएको ‘चार आनाको मसला’ बोलको गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको निर्माता अर्जुनको भनाई छ । गीतलाई दर्शकले रुचाएकोमा उनी दंग छन् ।
‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो फिल्मको अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।
अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । यो फिल्म बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् ।
गीत हेर्नुहोस् :-

