गएको मंसिर ३० गते केशव भट्टराईको हृदयघातका कारण निधन भएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको छ । अहिले बोर्ड अध्यक्ष बन्नका लागि नेकपा निकट फिल्मकर्मीहरुको दौडधुप सुरु भएको छ । राजेश हमाल, भुवन केसी, दयाराम दाहाल, नवल खड्का, केपी पाठक, आकाश अधिकारी, लय संग्रौलालगायत बोर्ड अध्यक्षका लागि लबिङ गरिरहेको चर्चा छ ।
अभिनेता राजेश हमाललाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउनका लागि नेकपा नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले चासो देखाएका छन् । तर, बौद्धिक अभिनेताको रुपमा चिनिने हमालले तत्काल बोर्ड अध्यक्ष बन्न रुचि देखाएका छैनन् । चलचित्र विकास बोर्डमा राजनीतिक हस्तक्षेप हुने भएका कारण उनी बोर्डमा पुगेर विवादमा पर्न नचाहेको बुझिएको छ ।
राजधानीमा गएको चार दिनदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा आइतवार आफ्नो कथा सुनाउन उपस्थित भएका अभिनेता हमालले बोर्डको अध्यक्षका लागि भैरहेको चर्चाको बारेमा मुख खोले । उनले आफूलाई बोर्ड अध्यक्ष हुन कुनै रुचि नभएको बताए । स्वर्गीय केशव भट्टराईसँग नजिक भएर काम गरेका बोर्डका सदस्यलाई नै अध्यक्ष बनाउनुपर्ने उनको माग छ ।
.jpg)
घुमाउरो शैलीमा चलचित्र विकास बोर्डका वर्तमान सदस्य तथा फिल्म निर्देशक दयाराम दाहाललाई अध्यक्ष बनाउनुपर्ने आशय व्यक्त गर्दै अभिनेता हमालले भने, ‘चलचित्र विकास बोर्डमा चलचित्र क्षेत्र राम्रोसँग बुझेको व्यक्ति जानुपर्छ । मलाई बोर्ड अध्यक्ष हुन रुचि छैन । मलाई के लाग्छ भने बोर्ड अध्यक्षमा स्वर्गीय केशव भट्टराईसँग नजिक भएर काम गरेका बोर्डका सदस्य आउनुपर्छ ।’
उनले अगाडि थपे, ‘बोर्डमा सक्षम र समस्या पहिचान गर्न सक्ने व्यक्ति आउनुपर्छ । मेरो विचारमा स्वर्गीय केशव भट्टराईसँग नजिक भएर काम गरेका व्यक्ति बोर्ड अध्यक्ष हुँदा राम्रो हुन्छ । किनकि, उहाँले केशवजीको भिजन र योजनालाई नजिकबाट नियाल्नुभएको हुन्छ ।’ अभिनेता हमालले नाम उच्चारण नगरे पनि बोर्ड अध्यक्षमा उनको समर्थन दयाराम दाहाल रहेको देखिन्छ ।
स्वर्गीय भट्टराईसँग निकै नजिक भएर काम गरेका व्यक्ति हुन्, निर्देशक दाहाल छ । त्यसमाथि अभिनेता हमाल र निर्देशक दाहालबीच निकै राम्रो सम्बन्ध छ । हमालले निर्देशक दाहालको निर्देशनमा ‘ढुकढुकी’, ‘जेठो कान्छो’ फिल्ममा अभिनय समेत गरेका छन् । हमालले प्रधानमन्त्री समक्ष पनि निर्देशक दाहालको नाम बोर्ड अध्यक्षका लागि सिफारिस गरेको जानकारी प्राप्त छ ।

