
बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ को निर्माण कम्पनी एवी इन्टरनेशनलले डान्स बेस्ड फिल्म बनाउने भएको छ । ‘वोर्न टू डान्स’ नाम राखिएको फिल्मलाई अमन तामाङले निर्देशन गर्दैछन् । अर्को वर्ष प्रदर्शन गरिने फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गर्नेछन् । फिल्म वास्तविक कथामा निर्माण हुने बताइएको छ ।
निर्माता अमित बस्नेतले फिल्म ‘वोर्न टू डान्स’ मा विगत ५ वर्षदेखि काम भैरहेको बताए । यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको उनी बताउँछन् । फिल्मका लागि कलाकारको टुंगो लागेको छैन । निर्माता बस्नेतले डान्समा पोख्त कलाकार चाहिने हुँदा फिल्मको कथा सुहाउँदा पात्रको खोजी भैरहेको बताए । उनका अनुसार, फिल्मका लागि केही कलाकारसँग कुराकानी भैरहेको छ ।
नेपाल, अमेरिका र क्यानडामा छायांकन हुने यो फिल्म बलिउडमा बन्ने गरेका डान्समा आधारित फिल्मभन्दा फरक हुने निर्देशक अमन तामाङले दाबी गरे । नेपालमा वर्षौदेखि लभस्टोरी, कमेडी र एक्सन जनरामा फिल्म बन्ने गरेको भए पनि पहिलो पटक डान्समा आधारित फिल्म बन्न लागेको उनी बताउँछन् । फिल्मलाई स्तरिय बनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
फिल्म वितरणमा समेत हात हालेको एवी इन्टरनेशनलले अब वर्षेनी फिल्म निर्माण गर्दैछ । अहिले यो कम्पनीले हिन्दी फिल्म ‘लैला मञ्जु’ निर्माण गरिरहेको छ । यसमा लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, जेसी लिभरलगायतका भारतीय कलाकारको अभिनय छ । योसँगै एवी इन्टरनेशनलले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ अर्को वर्षमा तिजमा प्रदर्शन हुँदैछ ।

