Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘म यस्तो गीत गाउँछु २’ लेखकको उद्घोष : ‘आशिकी २’ सँग फिल्म मिले सन्यास लिन्छु’

फिल्मीखबर, काठमाण्डौ, 2020/02/16
नेपाली फिल्मलाई कथा चोरीको आरोप लाग्नु नौलो होइन । विदेशी फिल्मको कथा, सिक्वेन्स, सिन र सटसमेत चोरेर थुप्रै नेपाली फिल्म बनेका छन् । ‘कोहलपुर एक्सप्रेस’ र ‘लभ स्टेशन’ यसका तात्ताता उदाहरण हुन् । इन्टरनेटको पहुँच नहुँदा विदेशी फिल्मको कथा चोरेर नेपाली फिल्म बनाउँदा पनि चोरी पत्ता लाग्दैन थियो । तर, अहिले फिल्मकर्मीभन्दा बाठा दर्शक भैसकेका छन् । 
 
 
नेपालमा इन्टरनेटको बढ्दो प्रयोगसँगै नेपाली दर्शकले संसारमा बन्ने कुनै फिल्म हेर्न छुटाएका छैनन् । कुनै विदेशी फिल्मबाट कथा चोरेर नेपाली फिल्म बनेको छ भने ट्रेलरबाटै दर्शकले चोरी पत्ता लगाउँछन् । त्यसैले पछिल्लो समय विदेशी फिल्मको कथा हुबहु उतारेर नेपाली फिल्म बन्न निकै कम भएको छ । तर, निर्मुल चाहिँ भएको छैन । वर्षमा एक-दुइटा फिल्म चोरीका भेटिन्छन् । 
 
यही फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘म यस्तो गीत गाउँछु २’ लाई पनि कथा चोरीको आरोप लागेको छ । बलिउड फिल्म ‘आशिकी २’ को नेपाली भर्सन भन्दै अहिले सामाजिक सञ्जालमा फिल्मको आलोचना भैरहेको छ । बिहीवार सार्वजनिक भएको फिल्मको ट्रेलरमा १० प्रतिशत कमेन्ट ‘आशिकी २’ बाट हुबहु कथा चोरिएको भन्ने छ ।
 
‘आशिकी २’ र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर हेर्दा कथाको प्लटमा परिस्थिति मिल्दोजुल्दो छ । ‘आशिकी २’ मा आदित्य रोय कपूर चर्चित गायक हुन्छन् । उनको भेट श्रद्धा कपूरसँग हुन्छ । श्रद्धाको स्वर राम्रो हुन्छ । उनी एक रेस्टराँमा जीविको पार्जनका लागि गायिकाको रुपमा काम गरिरहेकी हुन्छिन् । उनको स्वर दुनियाँमाझ पुर्‍याउन आदित्यले गर्ने संघर्षमा फिल्म घुमेको छ । 
 
‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर ‘आशिकी २’ भन्दा भिन्न लाग्दैन । ट्रेलरमा देखाइए अनुसार, सुदर्शन थापा निर्देशित फिल्ममा पल विक्रम शाह चर्चित गायक हुन्छन् । उनको गायनको ठूलो फ्यान हुन्छिन्, छाँया उर्फ पूजा शर्मा । उनको पनि गायनमा रुचि छ । तर, अवसर पाएकी हुन्नन् । छाँयासँग भेट भएपछि पलले उनलाई गायिका बनाउन आफ्नो स्टारडम नै दाउमा राख्छन् । 
 
 
‘म यस्तो गीत गाउँछु २’ को कथाको प्लट हेर्दा ‘आशिकी २’ सँग मिल्दोजुल्दो देखिन्छ । तर, ‘म यस्तो गीत गाउँछु २’ का लेखक शिवम् अधिकारीले म्यूजिकल लभस्टोरी भएका कारण ‘आशिकी २’ फ्लेवर लागेको हुनसक्ने बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै ‘आशिकी २’ बाट कथा चोरिएको प्रमाणित भए आफू नेपाली फिल्मबाटै सन्यास लिने पनि घोषणा गरेका छन् ।
 
निर्देशक सुदर्शन थापाले भने फिल्मलाई चोरीको आरोप लगाउन एउटा समुह नै लागिपरेको दाबी गरेका छन् । त्यस्तै, अभिनेत्री पूजा शर्माले सबै म्यूजिकल लभस्टोरी फिल्मलाई ‘आशिकी २’ सँग मिल्यो भनेर टिप्पणी गर्नु गलत रहेको बताएकी छन् । ३ मिनेटको ट्रेलर हेरेर फिल्मको टिप्पणी नगर्न उनको आग्रह छ । उनले दर्शकलाई फिल्म हेरेपछि टिप्पणी गर्न आग्रह गरेकी छन् । 
Most Visited News (monthly)