अहिलेको समयमा नेपाली फिल्मलाई लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नु पर्ने अवस्था छैन । विदेश राइट्सबाट पनि निर्माताले लाखौं कमाउने गरेका छन् । विशेषगरि हिट फिल्मका सिरिज निर्माण र प्रर्शनभन्दा अगाडि नै महँगो मूल्यमा विदेशी भूमिमा विक्री हुने गरेका छन् । कति नेपाली फिल्मको त विदेश राइट्सबाटै आधाभन्दा बढी लगानी उठिसकेको हुन्छ ।
यसबीच, फिल्म ‘प्रेमगीत ३’ को पनि चर्को मूल्यमा विदेश राइट्स विक्री भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले फिल्मको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ४५ हजार अमेरिकी डलर अर्थात् नेपाली ५१ लाखभन्दा बढी मूल्यमा खरिद गरेका छन् । नर्थ अमेरिकाका लागि यति ठूलो मूल्यमा अहिलेसम्म कुनै फिल्म विक्री भएका छैनन् ।
.jpg)
निर्माणभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको फिल्मको केही दिन अगाडि सार्वजनिक भएको ‘हात्ती ढुंगामा’ गीतपछि विदेशी भूमिमा फिल्मको माग झनै चुलिएको निर्माताबाट निर्देशक बनेका सन्तोष सेनले बताए । यो गीतले फिल्मको हाइप निर्माण्मा पनि ठूलो भूमिका खेलेको छ । फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।
फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

