शुक्रवारबाट प्रदर्शनमा आएको विशाल सापकोटा निर्देशित तथा विपिन कार्की अभिनीत फिल्म ‘सेल्फी किङ’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको छ । समीक्षकको नजरमा भने फिल्म खरो उत्रन सकेको छैन । एक हास्यकलाकारको तीन दिनको कथा वाचन गरेको फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गर्न सकेको छैन । शनिवार भने फिल्मको व्यापार सुखद थियो ।
निर्माण टिम भने फिल्मको ‘वर्ड अफ माउथ’ बलियो भएका कारण हलमा विस्तारै दर्शकको संख्यामा वृद्धि हुनेमा विश्वस्त छ । फिल्मले बक्सअफिसमा गतिलो व्यापार गर्न नसकेपछि प्रायः निर्माता तथा निर्देशकले नाम चलेका व्यक्तिलाई बोलाएर हलमा फिल्म देखाउने गर्दछन् । उनीहरुले फिल्म हेरेर मिडियामा राम्रो भनिदिए दर्शक हलसम्म आउने विश्वास फिल्मकर्मीमा छ ।
‘सेल्फी किङ’ निर्माताले पनि आइतवार फिल्म क्षेत्रका विभिन्न व्यक्तिलाई निम्त्याएर फिल्म देखाए । फिल्म हेर्न कुमारी हलमा निर्माता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता तथा निर्देशक नवल खड्का, अभिनेत्रीद्वय वर्षा राउत र सुरक्षा पन्तलगायत पुगेका थिए । उनीहरुले फिल्म राम्रो बनेको भन्दै कलाकारको अभिनयको प्रशंसा गरे ।
निर्देशक आकाश अधिकारीले फिल्म केही सुस्त भए पनि कथावस्तुले मन छोएको बताए । ‘फिल्ममा उठाइएको विषयवस्तु यथार्थपरक छ । निर्देशकले फिल्ममा यथार्थ प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । फिलिङ्सको सब्जेटमा फिल्म बनेको छ । प्रस्तुती अलि लेन्दी मात्र भएको हो,’ उनले भने । अर्का निर्देशक नवल खड्काले फिल्म यथार्थपरक र मर्मस्पर्शी लागेको बताए ।

अभिनेत्री सरिता गिरीले पनि आफूलाई फिल्म मन परेको बताइन् । फिल्ममा विपिन कार्कीले निर्वाहा गरेको क्यारेक्टरमा आफूलाई रिलेट गरेको उनको भनाई छ । त्यस्तै, अभिनेत्री वर्षा राउतले फिल्मको क्लाइमेक्समा आफू गहभरी भएको बताइन् । ‘यो फिल्म आम मानिसले हेर्नुपर्छ जस्तो मलाई लाग्छ । यो फिल्मले सायदै कसैको जीवनमा केही फरक पर्नसक्छ,’ उनले भनिन् ।
१० मा ८ रेटिङ दिँदै वर्षाले अगाडि भनिन्, ‘छोरा र पिताको सम्बन्ध कहिले काहिँ नराम्रो भैरहेको हुन्छ । यो फिल्मले सम्बन्ध दह्रिलो तथा आत्मीय बनाउन मद्दत गर्नसक्छ । मलाई निर्देशकको काम पनि मनपर्यो । नयाँ निर्देशक भए पनि उहाँले धेरै होमवर्क गरेर आउनुभएको छ जस्तो लाग्यो । मलाई विपिन काकीदेखि सबै कलाकारको काम मनपर्यो । फिल्म राम्रो र सरल बनेको छ ।’
अभिनेत्री सुरक्षालाई भने फिल्मले खासै छुन सकेनछ । तर, निर्देशक विशाल सापकोटाको पहिलो प्रयासको भने उनी प्रशंसा गर्छिन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘पहिलो प्रयासमा निर्देशक विशाल जीले यस्तो कथावस्तु छानेर ‘अटेम्प्ट’ गर्नु नै हामीले मनैदेखि स्वागत गर्नुपर्छ । फिल्म हेर्दा थाहा हुन्छ कि फिल्मका लागि उहाँको ‘इन्टेन्सन’ एकदमै सफा छ ।’
निर्देशकको पहिलो प्रयासमा केही कमजोरी भने देखिएको उनको भनाई छ । कतिपय ठाउँमा आफू कनेक्ट हुन नसकेको बताउँदै सुरक्षाले अगाडि भनिन्, ‘फिल्ममा कुनै कुनै चिज अहिलेसम्म नदेखेको प्रयोग पनि छ । क्यामेरा वर्क र निर्देशकको रियल लाइफको निरिक्षण राम्रो छ । निर्देशकले जे देखाउन खोज्नुभएको छ त्यो रिलेट हुन्छ तर रिलेट भएपछि त्यो ब्रेक भैरहेको छ ।’
निर्देशकको स्क्रिप्टमा वर्कआउट नपुगेको उनी बताउँछिन् । उनी विपिन कार्कीको कामबाट पनि सन्तुष्ट देखिइनन् । ‘विपिन दाईबाट अझ फरक हेर्न पाइन्छ कि भन्ने हामीमा अपेक्षा जागेको छ । उहाँले ‘आउट अफ बक्स’ जुन गर्नुहुन्छ त्यसमा मोहर छाप लगाइसक्यौं । तर, उहाँबाट हामी योभन्दा पनि अझ फरक खोज्छौं । उहाँको अभिनयमा खासै विविधता देखिन्न,’ उनी सुनिइन् ।

