अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्न पाउनु चानचुने उपलब्धि होइन । उनीसँग काम गर्दा फिल्म प्रदर्शनभन्दा अगाडि नै हिरोइनले प्रशस्त ‘हाइप’ पाउँछन् । अदिती बुढाथोकी, साम्राज्ञी राज्यलक्ष्मी शाह, श्रृष्टि केसी, उपासना सिंह ठकुरी, सुहाना थापा यसका उदाहरण हुन् । अनमोलसँग रोमान्स गरेका प्रायः अभिनेत्रीले नेपाली फिल्ममा राम्रो स्थान बनाएका छन् ।
आउँदो फागुन २ गतेबाट प्रदर्शन हुने फिल्म ‘लभ डायरीज’ बाट अभिनयमा डेब्यू गर्न लागेकी रुविना थापालाई पनि अनमोलसँग फिल्म ‘क्याप्टेन’ मा रोमान्स गर्ने प्रस्ताव आएको थियो । तर, यो फिल्म आफूलाई अफर भएको कुरा उनले आइतबार ‘लभ डायरीज’ निर्देशक सौरभ चौधरीले बताएपछि मात्र थाहा पाइन् । सौरभले रुविनालाई यो कुराको जानकारी नै दिएका रहेनछन् ।
.jpg)
आइतवार पुतलीसडकमा रहेको कफी एभिन्यूमा ‘लभ डायरीज’ को विषयमा पत्रकारसँग कुराकानी गर्ने क्रममा निर्देशक चौधरीले रुविनालाई डेब्यू फिल्म प्रदर्शन नहुँदै अन्य फिल्मबाट आएको प्रस्तावको बारेमा जानकारी दिँदै भने- ‘निर्देशक दीवाकर भट्टराईले ‘क्याप्टेन’ का लागि अभिनेत्रीमा रुविनालाई अफर गर्नुभएको थियो । अरु केही फिल्मबाट पनि उनलाई प्रस्ताव भएको थियो/छ ।’
‘क्याप्टेन’ छाड्दा पश्चताप महशुस भएको छ ? पत्रकारको प्रश्नमा रुविनाले भनिन्, ‘यो फिल्म मलाई अफर भएको अहिले भर्खर थाहा हुँदैछ । तर, मैले ‘लभ डायरीज’ बाटै डेब्यू गर्न चाहेको थिएँ । त्यसैले मलाई प्रस्ताव भएका फिल्म नगरेकोमा कुनै पश्चताप छैन ।’ उनले अहिले पनि आफूलाई फिल्मबाट अफर आउने गरेको तर ‘लभ डायरीज’ प्रदर्शन अगाडि कुनै फिल्म नगर्ने बताइन् ।
‘क्याप्टेन’ बाट अभिनेत्रीमा प्रस्ताव भएको जानकारी रुविनासम्म नपुर्याउनुको कारणबारे निर्देशक सौरभ चौधरीले भने- ‘उहाँले पहिलो पटक साइन गरेको फिल्म ‘लभ डायरीज’ हो । त्यसैले मैले यो फिल्मभन्दा अगाडि उहाँलाई अर्को फिल्मबाट डेब्यू गर्नबाट ‘होल्ड’ गरेको मात्र हो ।’ उनले रुविनासँग आफूले निर्देशन गर्ने नयाँ फिल्मका लागि पनि कागजी सम्झौता भैसकेको बताए ।

