अहिलेको समयमा एकै मितिमा एकभन्दा बढी नेपाली फिल्म प्रदर्शन हुनु सामान्य हो । विदेशी फिल्मसँग लुक्ने तर आफ्नै मुलुकमा बन्ने फिल्मसँग भिडन्त गर्न भने नेपाली निर्माता ठूलो छाति देखाउँछन् । यस वर्षको मंसिरदेखि पुष अन्तिमसम्म प्रदर्शनमा आएका प्रायः नेपाली फिल्मले सोलो रिलिज पाए । माघ दोस्रो साताबाट भने फेरि नेपाली फिल्मबीच भाले जुधाई सुरु भएको छ ।
‘साङ्लो’ र ‘सेल्फी किङ’ पछि अब यस वर्षको सबैभन्दा ठूलो भिडन्त आउँदो फागुन ९ गते हुँदैछ । यो मितिमा ‘आमा’ र ‘सेन्टी भाइरस’ एकसाथ प्रदर्शनमा आउँदैछन् । यसपछि आउँदो चैत २८ गते हेभिवेट भिडन्त हुँदैछ । अहिलेसम्म यो मितिमा ‘प्रेमगीत ३’, ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ प्रदर्शनमा आउने निश्चित छ । अब, यो मितिमा अर्को एक फिल्म थपिने देखिएको छ ।
(1)(1).jpg)
शुक्रवार टिजर सार्वजनिक भएको अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’ आउँदो नयाँ वर्षमा आउने निर्माण टिमको भनाई छ । तर, फिल्मको प्रदर्शन हुने मिति भने तोकिएको छैन । प्राप्त जानकारी अनुसार, फिल्मलाई चैत २८ गते प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ । यो मितिमा फिल्म प्रदर्शन भएको खण्डमा बक्सअफिसमा अभिनेता सौगातको भिडन्त आफैंसँग हुनसक्नेछ ।
चैत २८ मा प्रदर्शन हुने भनिएको फिल्म ‘माइकल अधिकारी’ मा पनि उनी नै प्रमुख भूमिकामा छन् । यो फिल्मको हाल छायांकन भैरहेको छ । फिल्ममा उनको जोडी अभिनेत्री सृष्टि श्रेष्ठसँग बाँधिएको छ । प्रदर्शनका लागि दुई महिना बाँकी रहँदा छायांकन भैरहेको यो फिल्म घोषित मितिमा प्रदर्शन हुने सम्भावना न्यून छ । यो फिल्म सरेको खण्डमा ‘मन्त्र’ आउने बताइएको छ ।
चैत २८ मा फिल्म ‘माइकल अधिकारी’ आएको अवस्थामा भने ‘मन्त्र’ केही हप्ताको अन्तरमा प्रदर्शन हुने स्रोतले जानकारी दिएको छ । नयाँ वर्षमा फिल्मको व्यापार राम्रो हुने सोचाइका कारण हरेक वर्ष नेपाली निर्माताबीच नयाँ वर्षमा फिल्म प्रदर्शन गर्न ठूलो रस्साकस्सी हुने गरेको छ । आउँदो नयाँ वर्षमा पनि ठूला नेपाली फिल्मबीच बक्सअफिसमा रोचक भिडन्त हुने देखिएको छ ।

