गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापार शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर एक्सन प्रधान फिल्म ‘साङ्लो’ ले केही हदसम्म चलायमान बनाएको छ । फिल्मले मल्टीप्लेक्समा दर्शक तान्न नसके पनि सिंगल थिएटरमा भने शुक्रवार र शनिवार लगभग हाउसफुलको व्यापार गरेको छ ।

शुक्रवार फिल्मले सिंगल स्क्रिनमा ५० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको थियो । भने, शनिवार ८० प्रतिशत आसपास रह्यो । शनिवार राजधानी र मोफसलका प्रमुख स्टेशनमा दर्शकको उच्च चाप देखिएको थियो । मल्टीप्लेक्समा भने फिल्मको अकुपेन्सी सन्तोषजनक छैन । मल्टीप्लेक्समा ‘साङ्लो’ भन्दा अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अकुपेन्सी माथि छ ।
काठमाडौं भ्यालीका लागि ‘साङ्लो’ वितरक गोपालकाजी कायस्थले तिहारपछि हलको विहानी सोज चलेको भन्दै खुसी व्यक्त गरे । पुष्पाञ्जली र सिद्धार्थ हलका सञ्चालक समेत रहेका उनले भने- ‘तिहारपछि कुनै नेपाली नचल्दा देशभरका सिंगल थिएटरका विहानी शोज कटौती हुँदै आएका थिए । ‘साङ्लो’ रिलिज भएसँगै हलमा विहानदेखि बेलुकासम्म दर्शकको भीड लागेको छ ।’
फिल्म हेरेका दर्शकले विशेषगरि अभिनेता विराज भट्टको एक्सन रुचाएका छन् । कथावस्तु र प्रस्तुतीकरणलाई लिएर भने मिश्रित प्रतिक्रिया छ । विराज शनिवार दर्शक प्रतिक्रिया बुझ्न राजधानीका केही सिंगल थिएटरमा अभिनेत्री निकिता चाण्डकको साथमा पुगेका थिए । दिउँसो राजधानीको गोपीकृष्ण हल पुग्दा उनलाई दर्शकले ‘बाघ फर्कियो’ भन्दै ठूलो हुटिङ गरेका थिए ।
धेरैपछि नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा अभिनेता विराज खुसी देखिन्थे । उनले गोपीकृष्णको बालकुनीमा उभिएर दर्शकलाई हात जोडेर अभिनन्दन गर्दै फिल्मको गीत र संवाद बोलेर सुनाए । त्यहाँ उनीसँग सेल्फी खिच्न र हेर्नका लागि दर्शकको थामिनसक्नुको भीड लागेको थियो । हलमा फिल्म हेर्न विशेषगरि १६ देखि २५ वर्ष उमेर समुहका दर्शकहरु बढी देखिन्थे ।

अभिनेता विराजले फिल्मलाई साथ र माया दिएकोमा दर्शकलाई धन्यवाद दिँदै भने- ‘मलाई यस स्थानसम्म दर्शकले ल्याउनु भएको हो । र, लामो समयपछि दर्शकमाझ आउँदा यतिको स्वागत होला भन्ने सोचेको थिएन । मायाको लागि धन्यवाद ।’ फिल्मलाई उनी आफैंले निर्देशन गरेका हुन् । ‘साङ्लो’ मा उनको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डकले अभिनय गरेकी छन् ।
फिल्मले प्रदर्शनको दुई दिनमा ८० लाखको आसपास व्यापार गरेको हुनसक्ने अनुमान गरिएको छ । तर, वितरक कम्पनी र निर्माण टिमले फिल्मको कलेक्सन खुलाएको छैन । फिल्म ‘साङ्लो’ को लाइफटाइम कलेक्शन आइतवारदेखिको व्यापारमा भर पर्नेछ । तर, शनिवार सिंगल थिएटरमा देखिएको दर्शकको चापले अभिनेता विराजको स्टारडम अझै भुत्ते नभएको प्रस्ट्याउँछ ।

