.jpg)
फिल्म ‘रणवीर’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्टले दोस्रो फिल्मको रुपमा ‘छ माया छपक्कै’ गरिन् । दुवै फिल्ममा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् । डेब्यू फिल्मले हलमा घुँडा टेके पनि दोस्रो फिल्म भने ब्लकबस्टर सावित भयो । ‘रणवीर’ रिलिज अगाडि अभिनेत्री सुवेच्छा खड्काको छाँयामा परेकी उनी फिल्म रिलिजपछि भने उनको छाँयामा सुवेच्छा परिन् ।
अहिले सहायक अभिनेत्रीमा सुपुष्पाको माग राम्रो छ । उनले अभिनय गरेको तेस्रो फिल्म ‘चपली हाइट ३’ आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित फिल्ममा सुपुष्पासँगै स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापालगायतका कलाकारहरुको अभिनय छ । फिल्म सस्पेन्स र थ्रिलर जनरामा बनेको हो ।
गएको सोमवार फिल्मको पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक भयो । राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको गीतमा स्वस्तिमा, सुपुष्पा, आमिर र महेश फिचर्ड छन् । अहिलेसम्म गीतमाथि छ लाखभन्दा बढीको नजर परिसकेको छ । १४ हजार लाइक्स मिलेको गीतलाई ४ सय बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्समा प्रायःले गीतको प्रशंसामा शब्द खर्चिएका छन् ।

तर, रोचक कुरा के छ भने गीतको भिडियोमा नृत्य गरेकी अभिनेत्री सुपुष्पा भट्टलाई दर्शकले चिन्न सकेका छैनन् । चार सय बढी कमेन्टमा उनका लागि थुप्रै कमेन्ट कोरिएका छन् । तर, केहीले मात्र कमेन्ट बक्समा उनको नाम मेन्सन गरेर तारिफ गरेका छन् । प्रायः ले भने ‘रेड ड्रेसवाली मनपर्यो’ भन्दै कमेन्ट गरेका छन् । दर्शकले उनको नृत्य र सुन्दरता खुब मन पराएका छन् ।
‘चपली हाइट ३’ गीतमा दर्शकले उनको नामको सट्टा पहिरनलाई इंकित गर्दै कमेन्ट गर्नुले सुपुष्पा दर्शकको ठूलो वर्गमा चिनिन नसकेको बुझाउँछ । हुन पनि, उनको डेब्यू फिल्म असफल भएको थियो । दोस्रो फिल्म हिट भए पनि ‘क्यारेक्टर नोटिस’ हुने खालको थिएन । अब, ‘चपली हाइट ३’ ले उनलाई दर्शकमाझ चिनाउन कति सफल हुनेछ ? त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
गीत हेर्नुहोस् :-

