Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘अर्जुन रेड्डी’ को प्रश्नमा किन तर्किए आर्यन ?

फिल्मीखबर, काठमाण्डौ, 2020/02/07
फिल्म ‘किस्मत’ पछि झण्डै एक दशक अभिनेता आर्यन सिग्देलले नेपाली फिल्ममा एकछत्र राज गरे । एक समय लभस्टोरी फिल्मका निर्विकल्प अभिनेताको रुपमा आफूलाई उभ्याएका उनले थुप्रै सुपरहिट फिल्म दिएका छन् । उनको टाउको पोस्टरमा देखेको भरमा हलमा दर्शकको भीड लाग्ने जमाना पनि थियो । तर, अहिले उनी एउटा हिट फिल्मका लागि भौतारिनु परेको छ । 
 
आर्यनका पछिल्ला कुनै फिल्म सफल छैनन् । उनी अभिनीत ‘रुद्रप्रिया’, ‘कायरा’, ‘हजार जुनीसम्म’ र ‘च च हुईं’ बक्सअफिसमा नराम्रोसँग पछारिए । ‘कायरा’ उनी आफैंले निर्माण गरेको फिल्म थियो । यो फिल्मले आफ्नो धरमराएको करिअरलाई सही दिशा दिनेमा उनी आशावादी थिए । तर, फिल्म बक्सअफिसमा टाँट पल्टियो । यसले आर्यनको करिअर झन् संकटमा पार्‍यो ।
 
नेपाली फिल्ममा आफ्नो प्रभुत्व रहँदा सम्बन्ध जोगाउन र पैसाको लोभमा संख्यात्मक अभिनयमा जोड दिँदा उनको स्टारडमले हलमा दर्शक तान्न नसकेको कतिपयको बुझाई छ । अभिनय गरेका फिल्महरु लगातार असफल हुन थालेपछि अभिनेता आर्यन अहिले हच्किएका छन् । फिल्मको अफर बाक्लै पुग्ने गरे पनि उनी अब हतारमा फिल्म छनोट गर्ने पक्षमा नभएको बुझिएको छ ।
 
केही दिनअघि उनले साउथ फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा अभिनय गर्न लागेको चर्चाले नेपाली सञ्चारमाध्यम राम्रै तात्यो । तर, आर्यनले फेसबुकमा स्टाटस लेख्दै आफू फिल्ममा नभएको र अफर नआएको जानकारी दिए । युवा फिल्मस्ले १६ लाखमा ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको अधिकार लिएको हो । फिल्मलाई ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले निर्देशन गर्दैछन् । 
 
 
निर्देशक विशालसँग अभिनेता आर्यनको सुमधुर सम्बन्ध छ । फिल्म ‘आइ एम सरी’ मा यी दुईले सँगै काम गरेका थिए । फिल्ममा उनीहरु मिल्ने साथीको भूमिकामा थिए । आर्यनकै सिफारिसमा निर्देशक दिनेश राउतले फिल्ममा विशाललाई अभिनय गराएका थिए । प्राप्त जानकारी अनुसार, अभिनेता आर्यनले नै विशाललाई फिल्म मेकिङको अध्ययन गर्न अमेरिका पठाएका हुन् । 
 
‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशक विशालले लिड रोलमा आर्यनभन्दा बाहेक अरुलाई सोच्न पनि सकेका छैनन् । आर्यनसँग उनको फिल्मलाई लिएर थुप्रै पटक कुराकानी भैसकेको स्रोत बताउँछ । आर्यनले फिल्म गर्नका लागि सहमति जनाइसकेको बुझिएको छ । तर, उनले आफूलाई फिल्म अफर नभएको भन्दै स्पष्टिकरण दिएपछि भने केही अन्योलता छाएको छ ।
 
बुधवार राजधानीमा आयोजित फिल्म ‘सेल्फी किङ’ को प्रिमियरमा अभिनेता आर्यन पनि उपस्थित भएका थिए । फिल्म हेरेर निस्किएपछि उनलाई सञ्चारकमीले ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा अभिनय गर्न लागेको विषयमा सोधे । तर, उनले यसको जवाफ दिएनन् । उनी यो विषयमा बोल्न नचाहनुलाई धेरैले आर्यन नेपाली ‘अर्जुन रेड्डी’ बन्ने निश्चित भएको अनुमान लगाएका छन् ।
 
फिल्म गर्ने निश्चित नभएको भए आर्यनलाई फेसबुकमा लेखेको कुरा दोहोर्‍याउन समस्या नहुनु पर्ने थियो । तर, पत्रकारबाट ‘अर्जुन रेड्डी’ को नाम सुन्ने वितिक्कै उनी ‘धन्यवाद’ भन्दै मिडियाबाट तर्किनुले फिल्म गर्ने सहमति भैसकेको आँकलन गर्न सकिन्छ । दर्शकहरुले फिल्ममा आर्यन नै हुनुपर्ने दबाबका कारण पनि निर्माण टिमले उनीभन्दा बाहेक अरुलाई सोच्न सकेको छैन । 
Most Visited News (monthly)