जाडो मौसम सुरु भएपछि आशातित फिल्म प्रदर्शनमा आएका छैनन् । जसकारण नेपाली हलमा विदेशी फिल्मले एकछत्र रजाइ गरिरहेको छ । गएको कात्तिकमा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ पछि आश गरिएका फिल्मले समेत हलमा दर्शक तान्न नसक्दा नेपाली फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको छ । फिल्म निर्माण र प्रदर्शन गर्न फिल्मकर्मी डराएको अवस्था छ ।
यसबीच, शुक्रवारबाट दुई आशातित फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फिल्म फरक जनरामा निर्माण भएका हुन् । कात्तिकपछि सुस्ताएको नेपाली फिल्मको व्यापार यी दुई फिल्मले केही हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको छ । प्रदर्शनभन्दा अगाडि राम्रो हाइप बनाएका यी दुई फिल्मका गीतसंगीत र ट्रेलर दर्शकले रुचाएका छन् ।
‘साङ्लो’ र ‘सेल्फी किङ’ को जनरा फरक भए पनि एकसाथ रिलिज भएका कारण व्यवसायिक रुपमा दुवै फिल्मलाई घाटा हुने निश्चित छ । किनकि, एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुँदा दर्शक र हल संख्या बाँडिन्छ । ‘साङ्लो’ मा अभिनेता विराज भट्ट एक्सन अवतारमा प्रस्तुत छन् भने ‘सेल्फी किङ’ मा अभिनेता विपिन कार्कीले हास्यकलाकारको भूमिका निभाएका छन् ।

‘साङ्लो’ बाट अभिनेता विराजले ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका हुन् । भोजपुरी फिल्म गर्न थालेपछि नेपाली फिल्ममा देखिन छाडेका उनलाई यो फिल्म बक्सअफिसमा सफल हुन अत्यन्त आवश्यक छ । यसलाई उनी स्वयंले निर्देशन गरेका हुन् । फिल्ममा उनको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । फिल्मले मृगौला तस्करीको कथा भन्छ ।
निर्माताले ठूलो शेयर हात पार्ने मल्टीप्लेक्सहरुमा फिल्म ‘साङ्लो’ ले पर्याप्त सोज पाएको छैन । मल्टीप्लेक्सको ठूलो चेन भएको हल क्युएफएक्सले फिल्मलाई २० शो दिएको छ । हुनत, ‘साङ्लो’ सिंगल थिएटर केन्द्रित फिल्म हो । विराज सिंगल थिएटरमा रुचाइएका अभिनेता हुन् । त्यसैले पनि यो फिल्मले मल्टीप्लेक्समा भन्दा सिंगल थिएटरमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।
मल्टीप्लेक्समा कम सोज पाए पनि सिंगल थिएटर भने प्रायः ‘साङ्लो’ कै कब्जामा छ । ‘सेल्फी किङ’ ले भने मल्टीप्लेक्समा पर्याप्त सोज पाएको छ । क्युएफएक्सले फिल्मलाई ३५ शो दिएको छ । बुधवार राजधानीमा आयोजित प्रिमियरमा सुखद प्रतिक्रिया बटुलेको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्मलाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् ।
कमेडी जनरामा निर्माण भएको फिल्ममा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । फिल्ममा अभिनेत्री केकी अधिकारीले एक गीतमा ठुम्का लगाएकी छन् । बक्सअफिसमा ‘साङ्लो’ र ‘सेल्फी किङ’ मध्ये कसको पल्लाभारी हुने हो, त्यो प्रतिक्षाको विषय बनेको छ ।

