.jpg)
बैबाहिक जीवनमा बाँधिएपछि प्रायः अभिनेत्रीहरु काम विहीन हुनुपरेका उदाहरण फिल्म क्षेत्रमा धेरै छन् । विवाहपछि अभिनेत्रीको क्रेज घट्ने सोचाइका कारण मेकरहरु फिल्म अफर गर्न डराउँछन् । सन्तानको आमा भएपछि त झन् फिल्ममा अभिनेत्रीको रोलमा काँडेतार नै लाग्छ । बरु, दिदी र आमाको भूमिका अफर हुन थाल्छ । त्यसैले पनि प्रायः अभिनेत्रीहरु विवाह गर्न हतारिँदैनन् ।
बैबाहिक जीवनमा बाँधिएपछि धेरैजसो अभिनेत्रीहरु स्वइच्छा या बाध्यताले काँचको पर्दाबाट हराउने गरेका छन् । फिल्म ‘मिसन पैसा’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री निशा अधिकारी भने फिल्ममा कमब्याक गर्ने मुडमा देखिएकी छन् । क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेर एक छोराको आमा समेत भैसकेकी उनी फिल्ममा फर्किने विषयमा सोचिरहेको बताएकी छन् ।
बुधवार फिल्म ‘सेल्फी किङ’ को प्रिमियरमा उपस्थित भएकी अभिनेत्री निशाले फिल्ममा कमब्याक गर्ने विषयमा भनिन्, ‘फिल्ममा कमब्याक गर्ने सोच बनाएको छु । तर, त्यसका लागि केही समय लाग्नसक्छ । बाबु भर्खर २१ महिनाको भयो । अहिले म फूल टाइम मदर भएर बसेको छु ।’ उनले अगाडि भनिन्, ‘मैले जानेको नै अभिनय गर्न हो । त्यसैले अभिनयबाट टाढा त हुनै सक्दिनँ ।’
छोरा स्कुल जान सक्ने भएपछि उनी फिल्ममा फर्किने सोचमा छिन् । अभिनेत्री निशाले अमेरिकामा छोरालाई जन्म दिएकी हुन् । अमेरिकामा पहिलो सन्तानलाई जन्म दिएपछि उनी अब नेपाली फिल्ममा नफर्किने कतिपयको अनुमान थियो । तर, अहिले उनी नेपालमा छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘कुम्भ करण’ हो । भने, उनले ‘झ्यानाकुटी’ नामक फिल्म पनि बनाएकी थिइन् ।

