Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

सुल्झियो ‘साङ्लो’ गीत विवाद, सुदीपले कति पाए क्षतिपूर्ति ?

फिल्मीखबर, काठमाण्डौ, 2020/02/05
फिल्म ‘साङ्लो’ को गीतलाई लिएर भएको विवाद अन्ततः सुल्झिएको छ । फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीतको शब्द चोरिएको भन्दै गएको शुक्रवार निर्देशक सुदीप भुपाल सिंहले प्रहरीमा उजुरी दिएका थिए । यो गीतको शब्द आफूले लेखेको तर जानकारी विनै फिल्ममा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै उनले उजुरी दिएका थिए । 
 
बुधबार संगीतकार सुरेश अधिकारी र निर्देशक सुदीप भुपाल सिंहबीच यूट्युबमा ‘झ्याम्मै आँखा झ्याम्मै...’ गीतमा दुवैको नाम गीतकारमा राख्ने गरि विवाद सल्टिएको हो । निर्देशक सुदीपले क्षतिपूर्ति स्वरुप आफूले ५० हजार १ रुपैयाँ पाएको बताए । बुधबार पत्रकारसँगको भेटमा उनले कानुन अनुसार पाएको क्षतिपूर्तिको रकममध्ये एक रुपैयाँमात्र आफूले घर लिएर जाने बताए । 
 
उनले भने, ‘मैले लेखेको गीतको शब्द केही परिवर्तन गरेर फिल्ममा राखिएको रहेछ । तर, मलाई त्यो कुरा जानकारी नै थिएन । त्यसमाथि गीतकारमा मेरो नाम पनि राखिएको थिएन । त्यसैले मैले गीतको शब्द चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएको थिएँ । सहमतिको प्रयास हुँदा सुरेश जीबाट ५० हजार क्षतिपूर्तिको कुरा आयो । र, मैले मेरोतर्फबाट एक रुपैयाँ थप्न भनेँ ।’ 
 
 
उनले आफूले पाएको ५० हजार स्वर्गीय केशव भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने र बाँकी एक रुपैयाँ घर लिएर जाने बताए । मंगलवार अभिनेता विराज भट्टले पत्रकार सम्मेलनमा ठूलो रकम मागेर आफूमाथि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको भन्ने आरोपबारे पनि निर्देशक सिंहले मुख खोलेका छन् । उनले आफूले ‘ब्ल्याकमेलिङ’ गरेको भए कानुनी सजाय भोग्न तयार रहेको बताए । 
 
अभिनेता विराजले, निर्देशक सिंहले १०/२० लाख मागेर ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका थिए । तर, निर्देशक सिंहले आफूले त्यति ठूलो रकम आफूले माग नगरेको दाबी गरे । संगीतकार अधिकारीले पनि निर्देशक सिंहले त्यति ठूलो रकम माग गरेको आफूले नसुनेको बताए । प्राविधिक त्रुटीका कारण गीतकारमा निशान भट्टराईको नाम पर्न गएको उनको भनाई छ ।
 
उनले भने, ‘हामीबाट केही गल्ती भएको पक्कै हो । विराज जीको आग्रहमा मैले गीतको शब्दमा केही परिवर्तन गरेको हुँ । सुदीप जीसँग सम्पर्क गर्ने कोशिश पनि गरेको थिएँ । तर, त्यसबेला उहाँसँग सम्पर्क हुन सकेन । पछि उहाँसँग सम्पर्क भएपछि कुरा मिलिहाल्छ भन्ने मैले सोचेँ । र, अहिले सुदीपजीले आफ्नो अधिकारका लागि लड्नु भएको लडाईंको म पनि समर्थन गर्छु ।’ 
 
संगीतकार अधिकारीले अब यूट्युबमा आफ्नो र निर्देशक सुदीपको नाम गीतकारको रुपमा आउने बताए । सुदीपले आफ्नो लडाईं गलत संस्कारको विरुद्धमा रहेको बताउँदै ‘साङ्लो’ को सदस्य हुन पाएकोमा खुसी व्यक्त गरे । उनले फिल्मलाई सफलताको शुभकामना पनि दिए । सुदीपले यसअघि फिल्म ‘रुद्रप्रिया’ को निर्देशन गरेका थिए । अहिले उनी नयाँ फिल्मको तयारीमा छन् । 
 
तस्विर : आर्यन विमली
Most Visited News (monthly)