यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ को गीत विवाद उत्कर्षमा पुगेको छ । गएको शुक्रवार ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीतको शब्द चोरी गरेको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएपछि सुरु भएको विवाद अझै साम्य हुन सकेको छैन । बरु, अहिले दुबै पक्ष एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउन लागिपरेका छन् ।

मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै अभिनेता विराज भट्टले सहमतिको प्रयास गर्दा निर्देशक सिंहले ठूलो रकम मागेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका थिए । निर्देशक सिंहले १०/२० लाख पाएको खण्डमा मात्र सहमति गर्न सक्ने बताएको विराजको भनाई छ । उनले लगाएको आरोपको बारेमा निर्देशक सिंहले मुख खोलेका छन् । आफूले ‘ब्ल्याकमेलिङ’ नगरेको दाबी उनको छ ।
उनले फेसबुकमा स्टाटस लेख्दै ‘ब्ल्याकमेलिङ’ गर्नु अपराध रहेको भन्दै आफूले त्यसो गरेको भए कानुनी सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन् । ‘इस्यू लड्न लायक हो । मेरो रचना हो भन्ने कुरामा अब विवाद बाँकी रहेन । तर पनि कुरा जस्तो कुनै निस्कियोस्, यो विकृतिको अन्त्य हुनुपर्छ । यो आवाज उठाउनुभन्दा अगाडि कस्तो कस्तोसम्मको बात मलाई लाग्छ भन्ने मैले राम्रोसँग सोचेको छु,’ उनले लेखेका छन् ।
उनी अगाडि लेख्छन्, ‘कुरा, विचार धेरै थरीका आउने नै छन् । विचारले हैन वास्तविक तर्क गरौं । कुरा व्यक्तिको होइन, कुरा सिस्टम, न्याय अनि नैतिकताको हो । म भीडमा सत्यलाई लुक्न दिदिनँ । म त असत्यको विरुद्ध लड्न तयार । यो बाटो सजिलो पक्कै छैन तर सही छ । मैले निकाल्ने आवाज अहिले मेरो निम्ति भए पनि पछि मेरो निम्ति मात्र हुने छैन ।’
कसैको सृजना चोरिन नहुने तर्क राख्दै उनले लेखेका छन्, ‘यहाँ कसैको शब्द, संगीत, कथा, रचना, आवाज, सृजना र अधिकार कसैबाट नचोरियोस्, नखोसियोस् । हामी आफ्नो कोठा सफा नपार्ने अनि घर सफा पार्ने कुरा गरेर हुँदैन । आ-आफ्नो क्षेत्र सफा राखौं, समाज यसै सफा हुन्छ । म फिल्म क्षेत्रमा छु, यो मेरो कर्तव्य हो । यो पोस्टले तपाईंको ‘लाइक’ वा ‘टिप्पणी’ अपेक्षा गर्दैन । तर, कम्तिमा एकपटक सोच्नुहोस् ।’
आफूले लडेको लडाईं गलत मान्नेहरुलाई एकपटक सत्यको नजिक आएर सोचिदिन उनले आग्रह गरेका छन् । प्रतिलिपि अधिकार कानुन द्वारा सुरक्षित रहेका कारण आफूले आफ्नो गीतको शब्द चोरी गर्नेहरुलाई पहिले नै प्रतिलिपि अधिकार उल्लंघनको साथ शुल्क लगाएको उनले लेखेको स्टाटसमा उल्लेख छ । सुदीप भुपाल सिंह फिल्म ‘रुद्रप्रिया’ का निर्देशक हुन् ।
गएको २ वर्ष अगाडि निर्देशक सिंहले ‘रुद्रप्रिया’ का लागि ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीत कम्पोज गर्न संगीतकार सुरेश अधिकारलाई दिएका थिए । तर, पछि यो गीत फिल्ममा राखिएन । गीत भने संगीतकार अधिकारीसँगै थियो । ‘साङ्लो’ मा आफूलाई जानकारी नै नगराइ गीत राखिएको र क्रेडिट पनि नदिएको भन्दै उनले प्रहरीमा प्रतिलिपि अधिकारीको रक्षार्थ उजुरी दिएका हुन् ।
हेर्नुहोस् उक्त गीत:-

