Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

विराजको गुनासो- ‘पैसाका लागि ‘ब्ल्याकमेलिङ’ गरियो’

फिल्मीखबर, काठमाडौं, 2020/02/04
अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत फिल्म ‘साङ्लो’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । रिलिजपूर्व गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरिसकेको छ । यसलाई हेर्दै फिल्मले सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । तर, फिल्म रिलिजको संघारमा रहँदा गीतको शब्द चोरी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । 
 
गएको शुक्रवार ‘साङ्लो’ मा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीतको शब्द चोरिएको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् । यो गीतको शब्द आफूले लेखेको तर जानकारी विनै फिल्ममा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै प्रतिलिपि अधिकारीको रक्षार्थ आफूले उजुरी दिएको उनको भनाई छ । 
 
फिल्मलाई गीत चोरीको आरोप लागेपछि मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अभिनेता विराजले फिल्म प्रदर्शनको बेला गीतको विवाद झिकेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजिएको आरोप लगाएका छन् । उनले सहमतिको प्रयास गर्दा निर्देशक सिंहले ठूलो रकम मागेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको बताए । उनी आफ्नो कुनै गल्ती नभएको पनि बताउँछन् ।
 
 
उनले भने, ‘मैले सुरेश अधिकारीबाट गीत लिएको हुँ । उहाँले कहाँबाट गीत लिनुभएको हो मलाई थाहा छैन । मेरो चाहिँ के गल्ती छ र गीतको क्षतिपूर्ती दिनु ? मैले हिजो उहाँ (सुदीप भुपाल सिंह) सँग सहमतिको प्रयास गरेको थिएँ । तर, उहाँले १०/२० लाख पाए मात्र सहमति गर्न सकिन्छ भन्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्नुभयो । के एउटा निर्दोष मान्छेलाई ‘ब्ल्याकमेलिङ’ गर्नु उचित हो ?’ 
 
कानुनले फिल्मबाट गीत हटाउन निर्देशन दिएको खण्डमा आफू फिल्ममा गीत नराख्ने उनले बताए । ‘यदी कानुनले फिल्ममा गीत नराख्न भन्छ भने म गीत हटाउन तयार छु । गीत खिच्दा भएको १०/१५ लाख खर्च म बेहोर्न तयार छु । तर, पैसाका लागि यसरी ‘ब्ल्याकमेलिङ’ गर्नु राम्रो होइन,’ अभिनेता विराजले अगाडि भने, ‘फिल्ममा मैले कुनै काम गैरकानुनी रुपमा गरेको छैन ।’ 
 
अभिनेता विराजसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका संगीतकार अधिकारीले गीतमा गायक निशान भट्टराईको नाम रचनाकारमा पर्नुमा प्राविधिक त्रुटी रहेको बताउँदै निर्देशक सिंहसँग सहमति भैसकेको बताए । उनले आफ्नो कारणले यूट्युबमा गीतकारमा निशानको नाम नलेखिएको पनि स्पष्ट पारे । गीतको रचनाकार आफू र निर्देशक सिंह रहेको उनको भनाई छ । 
Most Visited News (monthly)