.jpg)
अभिनेता आदित्य रोय कपूर पछिल्लो लामो समयदेखि एक हिट फिल्मको खोजीमा छन् । सन् २०१३ मा प्रदर्शनभ भएको फिल्म ‘आशिकी २’ उनको करिअरको पहिलो सोलो हिट फिल्म थियो । यो फिल्मलाई मोहित सूरीले निर्देशन गरेका थिए । फिल्मको म्यूजिक र आदित्य-श्रद्धा कपूरको केमेस्ट्रीलाई दर्शकले खुब रुचाएका थिए । फिल्ममा अदित्यले गजब काम गरेका थिए ।
‘आशिकी २’ पछि त्यही वर्ष उनी अभिनेता रणबीर कपूरसँग फिल्म ‘ये जवानी हे दीवानी’ मा देखिए । फिल्ममा रणबीर र आदित्यसँगै दीपिका पादुकोण र कल्कि केकलालगायतका कलाकारहरुको अभिनय थियो । अयान मुखर्जीले निर्देशन गरेको यो फिल्म पनि बक्सअफिसमा हिट सावित भएको थियो र आदित्यको बलिउड करिअर पनि आफ्नो बाटोमा आएको थियो ।
यसपछि अभिनेता आदित्यले मेन लिडको रुपमा थुप्रै फिल्ममा काम गरे तर उनी सफलताबाट बञ्चित भए । उनले ‘दावत ए इश्क’, ‘फितूर’, ‘ओके जानू’ जस्ता फिल्ममा काम गरे पनि यी कुनै फिल्मले दर्शकबीच उत्सुकता जगाउन सफल भएनन् । आदित्य पछिल्लो पटक धर्मा प्रोडक्सनको फिल्म ‘कलंक’ मा देखिएका थिए । तर, यो फिल्म पनि बक्सअफिसमा नराम्रोसँग पिटियो ।
अब, उनी ‘मलंग’ मा देखिँदैछन् । उनलाई हिट फिल्मको सुख यो फिल्मले पूरा गर्नसक्ने देखिएको छ । फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । आदित्य र दिशाको केमेस्ट्रीको पनि निकै चर्चा भैरहेको छ । फिल्मलाई सोसल मिडियामा पोजेटिभ माउथ पब्लिसिटी मिलेको खण्डमा फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्नेछ र आदित्यको करिअरलाई रफ्तार दिनेछ ।

