अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ्ग’ यही माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा एक चर्चित हास्यकलाकारको तीन दिनको कथा भनिएको छ । विपिन कार्की एक कार्यक्रममा प्रस्तुती दिन सोलुखुम्बु पुगेर राजधानी फर्किंदासम्मको कथा फिल्ममा बुनिएको छ । विशाल सापकोटाको निर्देशन रहेको फिल्मको कथा पनि उनी आफैंले लेखेका हुन् ।
एउटा कमेडियन हँसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मनभित्रको पीडालाई निर्देशक विशाल सापकोटाले फिल्ममा उतार्ने प्रयास गरेका छन् । एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यतामा आधारित रहेर निर्माण भएको फिल्मका प्रमुख कलाकार विपिन कार्कीसँग चर्चित हास्यकलाकार कलाकार दीपकराज गिरीले भेट गरेका छन् ।
फिल्मले उठान गरेको कथा र अभिनेता विपिनले निर्वाहा गरेको भूमिकाबारे दीपकले कुराकानी गरेका हुन् । उनीहरुले फिल्मको विषयमा गरेको कुराकानी यूट्युबमा पनि राखिएको छ । विपिनसँगको कुराकानीमा दीपकले एउटा कमेडियन हुँदा मनभित्रका भावनालाई कतिसम्म दबाउनु पर्छ भनेर उल्लेख गरेका छन् । उनले फिल्मको ट्रेलरमा आफ्नै कथा पाएको समेत बताए ।
‘फिल्मको ट्रेलरले हाम्रो कथा महशुस गराउँछ । फिल्मका केही घटना मसँग पनि घटेका छन् । जस्तै बस चढ्ने । ‘ट्वाक्क टुक्क’ बाट हिट भएँ पनि आर्थिक रुपमा सबल नहुँदा बस नै चढ्नु पर्थ्यो । केही समयपछि टेम्पो चढ्न थालेँ,’ उनले एक घटना सम्झँदै अगाडि भने- ‘एक पटक मेरो भाइको दुर्घटना भएको थियो । म औषधि लिन जाँदा एक जनाले चिनेर ठट्यौली शैलीमा कुरा गरे ।’
उनले उक्त घटना स्मरण गर्दै अगाडि भने- ‘मेरो मनभित्रको पिडा मसँगै थियो तर त्यहाँ दाई दीपक हैन, कलाकार दीपकको दाहित्व निर्वाहा गरेँ । मनभित्रको पिडा दबाएर मुस्कुराएँ । सायद यसैलाई ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ’ भन्छन् ।’ ट्रेलर हेर्दा फिल्म राम्रो बनेको हुनसक्ने विश्वास आफूले लिएको दीपकले बताए । उनले निर्माण टिमलाई सफलताको शुभकामना पनि दिए ।
दीपकराज गिरी र विपिन कार्कीको भलाकुसारी :-
त्यस्तै, अभिनेता विपिन कार्कीले कमेडीको कथामा फिल्म गरेपछि यो पेशा कति गाह्रो छ भन्ने महशुस गरेको बताए । उनले भनेका छन्, ‘फिल्म नै एक कमेडियनको तीन दिनको कथामा छ । त्यसैले पनि यसको कुनै न कुनै भागले कमेडियनलाई रिलेट गर्छ नै । तर, हामीले फिल्ममा कमेडी देखाएका होइनौं । केवल एउटा कमेडियन के कस्ता अवस्थाबाट गुज्रिनु पर्छ भनेर देखाएका छौं ।’
फिल्ममा दिनेश राउत र सुभाष थापाको लगानी रहेको छ । विपिनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी छन् । यसमा सुसन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन छ ।

