Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

लक्ष्मी भन्छिन्, ‘मलाई हिरोइन भन्दा जिस्काए जस्तो लाग्छ’

फिल्मीखबर, काठमाडौं, 2020/02/01
अभिनेत्री लक्ष्मी बर्देवाले अभिनयको दमले नेपाली फिल्म क्षेत्रमा आफूलाई स्थापित गरिसकेकी छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएकी उनलाई महिला टेम्पो चालकको भूमिकामा खेलेको फिल्म ‘बुलबुल’ ले नयाँ उचाइ दिलायो । यसमा उनले गरेको अभिनयले दर्शकमाझ बेग्लै प्रभाव छाड्यो । चारित्रिक भूमिकामा अहिले उनको लोभलाग्दो माग छ ।
 
मण्डला थिएटरमा अभिनय सिकेपछि उनले थुप्रै नाटक गरिन् । त्यसपछि छोटा फिल्म, म्यूजिक भिडियो हुँदै फिल्म अभिनयसम्मको यात्रा तय गरेकी लक्ष्मीले पात्र निर्माणमा धेरै अनुभव बटुलिसकेकी छन् । तर, उनी हिरोइनको प्रचलित मानकभित्र आफू नअट्ने बताउँछिन् । उनी लुक्सको हिसाबले आफू हिरोइनको मानकभित्र नअटाएकोमा नमिठो पनि नलाग्ने बताउँछिन् ।
 
 
शुक्रवार कफी भेटमा भर्सटायल अभिनेत्रीको रुपमा परिचित लक्ष्मीले भनिन्, ‘हामीले देख्दै र बुझ्दै आएको हिरोइनको मानकभित्र म लुक्सको हिसाबले अटाउँदिनँ । त्यो मैले स्वीकार गर्नुपर्छ । क्यारेक्टर लिडमा भएको कथा छ भने निर्माता निर्देशकहरुले मलाई सम्झनुहुन्छ । म आफूलाई हिरोइन भन्दा पनि कलाकार भन्न रुचाउछु । हिरोइन भन्यो भने जिस्काएको जस्तो लाग्छ ।’
 
भर्खर फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकाएकी लक्ष्मीको नयाँ फिल्म ‘सेल्फी किङ’ यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । विशाल सापकोटा निर्देशित फिल्ममा उनी अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकामा छिन् । ट्रेलर हेर्दा फिल्ममा उनले शंकालु श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । यसअघि विपिनसँग उनले ‘हरी’ मा काम गरेकी थिइन् ।
 
अभिनेत्री लक्ष्मी विपिनसँग काम गर्दा धेरै कुरा सिक्न पाएको बताउँछिन् । उनले भनिन्, ‘‘हरी’ मा विपिन सर र मेरो फेस टू फेस सिन थिएन । ‘सेल्फी किङ’ मा चाहिँ श्रीमान्-श्रीमतीको भूमिकामा छौं । उहाँ मभन्दा धेरै सिनियर कलाकार हुनुहुन्छ । उहाँसँग काम गर्दा मलाई धेरै कुरा सिक्ने अवसर मिल्यो ।’’ ‘सेल्फी किङ’ लाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् ।
Most Visited News (monthly)