मिस नेपालका ताजधारी सुन्दरीहरुले प्रायः ग्ल्यामर फिल्ड रोज्ने गरेका छन् । माल्भिका सुब्बा, मेलिना जोशी, जेनिशा मोक्तान, सृष्टि श्रेष्ठ यसका उदाहरण हुन् । तर, मिस नेपालको ताज जितेका सुन्दरीहरुले नेपाली फिल्ममा खासै राम्रो करिअर बनाउन सकेका छन् । व्यूटी प्याजेन्टबाट जति पनि सुन्दरीहरु फिल्म अभिनयमा आएका छन्, अधिकांश असफल सूचीमा परेका छन् ।
यही यथार्थबीच सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । फिल्ममा उनको जोडी एक्सन स्टार विराज भट्टसँग बाँधिएको छ । फिल्मका निर्देशक पनि उनी नै हुन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मकी निकिता सोलो अभिनेत्री हुन् । यसकारण उनको भूमिकाले फिल्ममा विशेष अर्थ राख्ने अनुमान गरिएको छ ।
तर, ट्रेलरमा उनले पाएको ‘स्क्रिन स्पेश’ हेर्दा फिल्ममा उनी ‘सो पिस’ मा सीमित भएको हुनसक्ने देखिन्छ । यस विषयमा अभिनेता विराज भन्छन्, ‘फिल्म हेरेपछि दर्शकले निकिताको तारिफ गर्नेछन् । ट्रेलरमा धेरै कलाकारको बीचमा उसलाई मैले कमै स्पेश दिएको छु । तर, फिल्ममा उसको बलियो क्यारेक्टर छ ।’ उनी फिल्ममा निकिताको काम पहिलो जस्तो नलाग्ने बताउँछन् ।
नेपाली फिल्ममा अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउन लागेकी निकिताले आफू मिस नेपाल भएपछि अभिनेत्री बन्ने सोच नबनाएको बताइन् । एक भेटमा उनले भनिन्, ‘मिस नेपाल बनेपछि अभिनय गर्ने सोच बनाएको होइन । मलाई पहिल्यदेखि नै अभिनयमा रुचि थियो । बरु, मिस नेपालमा सहभागी हुन्छु भनेर चाहिँ कहिल्यै सोचेको थिइनँ । यो चाहिँ अचानक जस्तै भयो ।’
मिस नेपालको उपाधि जितेपछि फिल्ममा प्रवेश गर्न बाटो खुल्छ भन्ने सोचाइ धेरैमा छ । तर, मिस नेपाल हुँदैमा फिल्म नपाइने तर्क निकिता राख्छिन् । उनले अगाडि भनिन्, ‘मिस नेपालको उपाधि जितेपछि एक हदसम्म फिल्ममा प्रवेश गर्न सजिलो चाहिँ हुन्छ । तर, फिल्म पाउनु मात्र ठूलो कुरा होइन । तपाईंमा प्रतिभा नै छैन भने जुन प्रतियोगिताको टाइटल जिते पनि अर्थ छैन ।’
नेपाली फिल्ममा असफल मिस नेपालको भीडमा अपबाद बन्छु जस्तो लाग्छ ? पत्रकारको प्रश्नमा निकिताले भनिन्, ‘म ठूलो स्टार बन्छु भनेर फिल्ममा आएको होइन । पहिल्यैदेखि अभिनयमा रुचि भएका कारण अभिनयमा होमिएको हुँ । दर्शकले मेरो काम रुचाइदिनुभयो भने त्यही नै मेरो लागि ठूलो सफलता हुनेछ ।’ दर्शकले आफ्नो काम रुचाउनेमा उनी विश्वस्त छिन् ।

