
आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ को एकमात्र गीत सार्वजनिक भएको छ । सरस्वती पूजाको शुभ अवसरमा निर्माण टिमले ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको मनछुने गीत सार्वजनिक गरेको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुषालको संगीत छ । गीतको भिडियोमा फिल्मका चल/अचल दृश्य समावेश छन् ।
आमाले आफ्नो सन्तानका लागि गर्ने संघर्षलाई निकै गहिरो रुपमा गीतमा प्रस्तुत गरिएको छ । गीतले नै फिल्मको मूल मर्म बोल्छ । ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले यो गीतलाई फिल्ममा कथावाचनको रूपमा प्रयोग गरिएको बताए । ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ प्रतिक्षीत बनेको फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्त आमा-छोरीको भूमिकामा छन् ।
फिल्ममा श्रीमान् विरामी भएपछि छटपटिएकी एक श्रीमती र उनको सन्तानप्रतिको मायालाई मिथिला शर्माको भावबाट व्यक्त गरिएको छ । ट्रेलरमा उनको मनछुने अभिनयको निकै प्रशंसा भैरहेको छ । सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, अश्मिता खनाललगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
‘लभ लभ लभ’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा बनेको यो फिल्ममा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन् । फिल्ममा दिर्घ खड्काको सम्पादन छ । ट्रेलरबाट दर्शकमा फिल्मप्रति निकै अपेक्षा बढेको छ । दर्शकलाई फिल्मले निराश नबनाउने निर्दे खनालको दाबी छ । काठमाण्डौ र रामेछापमा छायांकन भएको फिल्मको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो ।
गीत हेर्नुहोस् :-

