.jpg)
सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘दुःखको काँडा’ र ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले बिहीवार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् ।
सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको अडियो र भिडियो दुबै औसत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा पूजाको डान्स स्टेप्स ध्यान खिच्ने खालको छ । यो फिल्मको अझै दुई गीत सार्वजनिक हुन बाँकी छन् । आउँदो फागुन २३ गते प्रदर्शन हुने फिल्मलाई सुदर्शन र पूजाले मिलेर निर्माण गरेका हुन् ।
‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।
दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने फिल्म पण्डितले अनुमान गरेका छन् । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ । त्यसमाथि निर्देशक सुदर्शन थापाको एक्सन कट भएका कारण फिल्मप्रति ठूलो अपेक्षा गरिएको छ ।
गीत हेर्नुहोस् :-

