एक समयको चर्चित हास्यटेलिसिरियल ‘मेरी बास्सै’ मा ‘सुन्तली’ र ‘फतौरी बुढी’ को चरित्र निभाएपछि आम दर्शकमाझ चिनिएकी कुञ्जना घिमिरे आउँदो फागुन ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सेन्टी भाइरस’ बाट पहिलो पटक सिल्भर स्क्रिनमा देखिँदैछिन् । बाल्यकालदेखि नै ऐना हेरेर भविष्यमा हिरोइन हुने सपना बुनेकी उनको २८ वर्षपछि त्यो सपना साकार भएको छ ।
‘सेन्टी भाइरस’ मा उनले श्रीमान् सिताराम कट्टेल ‘धुर्मुस’ की श्रीमतीको भूमिका निर्वाहा गरेकी छन् । बुधवार फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सिताराम र कुञ्जनाको नोकझोंक देख्न सकिन्छ । राजनीतिले परिवारमा कसरी द्वन्द्व श्रृजना गर्छ भन्ने कुरालाई फिल्ममा देखाइएको छ । फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा कुञ्जानाले अहिले आफू स्लिम हुने कोशिशमा रहेको बताइन् । धेरैले आफूलाई सामाजिक अभियान्तासँगै सेलिब्रेटी पनि भएका कारण फिटनेशमा ध्यान दिन आग्रह गरेपछि राम्री हुने प्रयासमा रहेको उनको भनाई छ । उनी भन्छिन्, ‘म सेलिब्रेटी पनि हो, सामाजिक अभियान्ता मात्र होइन । त्यसैले मैले आफूलाई पनि मेन्टेन गर्नुपर्छ भन्ने लाग्छ ।’
उनले बाल्यकालदेखि नै अभिनेत्री बन्ने इच्छा रहेको सुनाउँदै भनिन्, ‘मेरो छोरीको उमेर हुँदा म नाच्ने/गाउने/डाम्रा गर्ने गर्थेँ । स्कुलमा पनि धेरै पुरस्कार जितेको थिएँ । त्यसबेलादेखि नै म ऐना हेरेर हिरोइन हुन्छु भन्थेँ ।’ उनले २८ वर्षपछि ‘सेन्टी भाइरस’ बाट अभिनेत्री बन्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरिन् । तर, उनी फिल्ममा आफू हिरोइन जस्तो नदेखिएको बताउँछन् ।
कलाकार कुञ्जनाले आफू क्यारेक्टरमा काम गर्न रुचाउने भए पनि विगत ४ वर्षदेखि त्यो पनि टुटेको बताइन् । ‘सेन्टी भाइरस’ आफ्नो २८ वर्षपछिको तपस्या रहेको उनको कथन छ । उनले भनिन्, ‘बाल्यकालदेखि फिल्ममा अभिनय गर्ने इच्छा बल्ल पूरा भएको छ । फिल्म मेकिङमा यो हाम्रो पहिलो प्रयास हो । अब हामी फिल्म निर्माण र अभिनयलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’

