
अभिनेत्री कंगना रनावत, ऋचा चड्ढा र जस्सी गिलको प्रमुख भूमिका रहेको स्पोर्टस् जनरामा निर्मित फिल्म ‘पंगा’ बक्सअफिसमा कमजोर देखिएको छ । प्रदर्शनको पहिलो दिन २ करोड ७० लाख कमाउँदै कमजोर ओपनिङ गरेको फिल्मले शनिवार र आइतवार भने राम्रो व्यापार गरेको थियो । फिल्मले शनिवार ५ करोड ६१ लाख र आइतवार ६ करोड ६० लाख छापेको थियो ।
सोमवारबाट भने फिल्मको कमाईमा ठूलो गिरावट आएको छ । फिल्मले सोमवार र मंगलवार दुबै दिन १ करोड ६५ लाख छापेको छ । अश्वनी अय्यर निर्देशित फिल्मले प्रदर्शनको पाँच दिनमा १८ करोड २१ लाखको व्यापार गरेको छ । जुन अपेक्षाकृत व्यापार होइन । सोमवारबाट कमाईमा आएको गिरावट हेर्दा फिल्मको लाइफटाइम कलेक्सन ५० करोड पनि नपुग्ने देखिन्छ ।
समीक्षकको नजरमा खरो उत्रिएको ‘पंगा’ कबड्डी प्लेयरको जीवनमा आधारित छ । फिल्मलाई दर्शकले पनि रुचाएका छन् । तर, कमाईको मामलामा भने फिल्म असफल देखिएको छ । फिल्म भारतका १ हजार पाँच सय ५० वटा स्क्रिन्स एकैसाथ रिलिज भएको थियो । २५ करोड भारुमा बनेको फिल्ममा अभिनेत्री कंगना रनावत कबड्डी प्लेयर जया निगमको भूमिकामा छिन् ।
प्रशान्त (जस्सी गिल) सँग विवाह भएपछि जया (कंगना) ले कबड्डीबाट दूरी बनाउँछिन् । उनका छोरा हुन्छन्, आदित्य (यज्ञ भसीन) । जिम्मेवारीमा अल्झिएकी जयालाई उनका छोराले कबड्डीमा कमब्याक गर्न आग्रह गर्छन् । त्यसपछि उनी फेरि आफ्नो सपना पूरा गर्न निस्कन्छिन् र उनलाई परिवारबाट पनि सपोर्ट मिल्छ । जयाको आमाको भूमिका नीना गुप्ताले निभाएकी छन् ।

