Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराजको दाबीः ‘साङ्लो’ को एक्सन साउथले चोर्नेछ’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/29
नेपाली फिल्मका ‘बाघ अभिनेता’ को रुपमा चिनिने विराज भट्ट करीब ४ वर्षपछि आफ्नै निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ लिएर आउँदैछन् । लामो समयपछि उनी नेपाली फिल्ममा फर्किएका कारण पनि यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ । उनको प्रतिक्षा दर्शकमा कुन हदसम्म छ भन्ने कुरा फिल्मको ट्रेलरको कमेन्ट बक्स निहाल्दा नै अनुमान गर्न सकिन्छ । 
 
 
करीब ७ वर्ष अगाडि भोजपुरी जाने निर्णय गर्दा अभिनेता विराजको नेपाली फिल्ममै भ्याइनभ्याइ थियो । तर, उनी अचानक भोजपुरी हानिए । कतिपयले उनी पैसाको लोभले भोजपुरी गएको आरोप लगाए । नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनले भोजपुरीमा पनि आफूलाई बलशाली अभिनेताको रुपमा उभ्याए । त्यहाँ उनले ७ वर्षमा थुप्रै सुपरहिट फिल्म दिए ।
 
अब भने विराज नेपाली फिल्ममा फर्किएका छन् । हुनत, उनले गएको ४ वर्ष अगाडि नै फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । तर, यसले बक्सअफिसमा सफलताको झण्डा गाँड्न सकेन । यो फिल्म नचल्दा धेरैले बाघ बुढो भएको भन्दै टिप्पणी गरे । ‘साङ्लो’ बाट उनी फेरि एकपटक नेपाली फिल्ममा आफ्नो दबदबा कायम गर्ने सोचमा छन् । 
 
यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘साङ्लो’ को ट्रेलरमा अभिनेता विराजको पावरफूल एक्सनले दर्शकमा फिल्मप्रति उत्सुकता बढाएको छ । वर्षौदेखि लभस्टोरी र कमेडीको ह्याङमा रहेका दर्शकलाई यो फिल्मले मुक्त गर्ने अपेक्षा गरिएको छ । अभिनेता विराज पनि फिल्ममा आफूलाई दर्शकले अहिलेसम्म नदेखेको एक्सन अवतारमा देख्न पाउने दाबी गर्छन् । 
 
 
उनी ‘साङ्लो’ को एक्सन साउथ फिल्मले चोर्ने समेत बताउँछन् । हालै एक कफी भेटमा विराजले भने- ‘हामी सधैं किन अरुको  एक्सन मात्र चोर्ने ? हामी केमा कम छौं ? हो, हामी बलिउड र हलिउड फिल्ममा जस्तो धेरै खर्च गर्न सक्दैनौं । तर, मेहेनत त गर्न सक्छौं नी । मेहेनतमा हामी उनीहरुभन्दा राम्रो गर्न सक्छौं । ‘साङ्लो’ को एक्सन हामी आफैंले कियशन गरेका हौं ।’ 
 
उनी कलालाई कुनै सिमाले नरोक्ने पनि बताउँछन् । उनले भोजपुरी फिल्ममा जानुको वृत्तान्त बताउँदै भने- ‘म भोजपुरी गएको भन्दा पनि भोजपुरीका निर्माताले मलाई खोजेर लगेका हुन् । नेपाली फिल्ममा मेरो राम्रो देखेर त्यहाँका मेकरले मलाई खोजेका हुन् । यस्तो धेरै ठाउँमा भएका छन् । तेलुगूको हिन्दीमा, हिन्दीको हलिउडमा समेत गएका छन् । कलालाई कुनै सिमाले रोक्दैन ।’
 
नेपाली फिल्मलाई संसारभर चिनाउने अवसर पाए आफू हलिउड/बलिउड सबै भाषाका फिल्म गर्न तयार रहेको विराजको भनाई छ । उनले थपे- ‘हाम्रो फिल्म इन्डस्ट्री सानो छ । एउटा सीमित ठाउँमा चल्छ । सानो बजेटमा बन्छ । संसारभरी हामीले नेपाली फिल्मलाई चिनाउन सकेका छैनौं । भोजपुरीमा गएर नेपाली फिल्मलाई चिनाउन पाउनु मेरो सौभाग्यको कुरा थियो ।’ 
 
 
अभिनेता विराजले फिल्म ‘साङ्लो’ मा पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । उनी निकिताको कामबाट आफू प्रभावित भएको बताउँछन् । निकिताको तारिफ गर्दै विराजले अगाडि भने- ‘काम गर्ने मान्छेले थोरैमा पनि आफूलाई चिनाउँछन् भने निकिता त सोलो अभिनेत्री हुन् । फिल्ममा उनको राम्रो क्यारेक्टर छ । फिल्म हेरेपछि दर्शक उनको फ्यान हुनेछन् ।’
Most Visited News (monthly)