Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(33 votes, avg 4.97/5.00)
Text size:-
+
-

५० हजार सवारीमा ‘सेन्टी भाइरस’ को पोस्टर टाँसिँदै

फिल्मीखबर, काठमाण्डौ, 2020/01/28
अहिले फिल्म बनाएर मात्र काफी छैन । गतिलो प्रचार-प्रसार भएन भने ठूला स्टार भए पनि फिल्मले हलमा दर्शक तान्न सक्दैन । प्रचार बलियो भए फिल्मको इनिसियल व्यापार बलियो हुने विश्वास फिल्मकर्मीमा छ । त्यसैले अचेल फिल्मकर्मीहरु दर्शकमाझ फिल्मप्रति चासो जगाउन अनेकन फण्डा अपनाउने गरेका छन् । हिरो-हिरोइनको अफेयरको हल्ला समेत पिट्ने गरिन्छ । 
 
 
आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ ले भने भिन्न शैलीमा फिल्मको प्रचार-प्रसार थालनी गरेको छ । फिल्मको जानकारी धेरैभन्दा धेरै दर्शकमाझ पुर्‍याउन देशभरका ५० हजार सवारीमा ‘सेन्टी भाइरस’ को पोस्टर टाँसिने भएको छ । सोमवार राजधानीमा उपत्यका ट्याक्सी व्यवसायी संघले ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात गर्‍यो । 
 
ट्याक्सीमा पोस्टर टाँस्नलाई फिल्मका प्रमुख अभिनेता तथा निर्माता  सिताराम कट्टेल (धुर्मुस) र बुद्दि तामाङ उपस्थित भएका थिए । पोस्टर टाँसेपछि कलाकार कट्टेलले फिल्मको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खचिर्ने घोषणा पनि गरे । यसअघि फिल्मको आम्दानीको २० प्रतिशत रंगशाला निर्माणमा खर्च गरिने बताइएको थियो । 
 
कलाकार सितारामले दर्शकलाई एकपटक फिल्म हेरिदिन आग्रह गर्दै भने- ‘तपाईहरुले फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ । त्यसैले फिल्मको बारेमा आम सर्वसाधरणमा जानकारी होस् भन्ने हेतुले नेपाल यातायात व्यवसायी महासंघले देशभरका ५० हजार बढी सवारीमा पोस्टर टाँस्दैछ । यसले फिल्मको प्रचारमा थप सहयोग पुग्ने आशा बोकेका छौँ ।’
 
 
रामबाबु गुरुङ निर्देशित फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । 
Most Visited News (monthly)