
नयाँ पुस्ताका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । युट्युबबाट उदाएका उनलाई युट्युबका ‘ट्रेन्डिङ’ गायक समेत भन्ने गरिन्छ । उनले स्वर दिएका हरेक गीतले युट्युब ट्रेन्डिङमा आफ्नो कब्जा जमाउने गरेका छन् । उनका गीतले लाखौं भ्युज र हजारौं प्रतिक्रिया पाउँछन् । नितेशको ‘हाम्रो नेपालमा’, ‘आस्मा’, ‘सिन्धुली गढी’, ‘गफै त हो’, ‘हलन्ते’ लगायत गीत लोकप्रिय छन् ।
अब, उनै गायक नितेश फिल्मको हिरो बन्ने तयारीमा छन् । सुरेन्द्र पौडेलले क्याप्टेनसिप सम्हाल्न लागेको फिल्मबाट नितेश हिरो बन्न लागेको चर्चा छ । निर्देशक पौडेल र गायक कुँवरबीच फिल्मका लागि मौखिक सहमति भैसकेको बुझिएको छ । तर, कागजी सम्झौता भने भएको छैन । निर्माण टिमको नितेशसँग केही दिनमा कागजी सम्झौता हुने स्रोतले फिल्मीखबरलाई बतायो ।
निर्देशक सुरेन्द्रले नितेशसँग फिल्मका लागि कुराकानी भएको स्वीकार गरे । उनले भने- ‘नितेशजीसँग फिल्मको विषयमा कुरा भएको सत्य हो । तर, अहिलेसम्म कागजी सम्झौता भएको छैन ।’ नाम गोप्य राखिएको फिल्ममा ‘कृ’ फेम्ड अभिनेत्री अदिती बुढाथोकी लिड एक्ट्रेसको रुपमा हुने चर्चा छ । तर, उनीसँग पनि कागजी सम्झौता नभएको निर्देशक पौडेल बताउँछन् ।
सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘कृ’ बाटै अभिनेत्री अदितीले अभिनय करिअर सुरुवात गरेकी थिइन् । यो फिल्म गर्नका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन् । तर, डेब्यू फिल्म फ्लप भएपछि उनी पुनः मुम्बई फर्किइन् । यसपछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् । नितेश र अदितीले सुरेन्द्रको फिल्म गर्न राजी भएको खण्डमा यो जोडीलाई पर्दामा हेर्न रोचक हुने देखिन्छ ।

