तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन निर्माण हुने कुराले अहिले राम्रै चर्चा पाइरहेको छ । यो फिल्मको हिन्दी रिमेक समेत प्रदर्शन भैसकेको अवस्थामा नेपाली भर्सन निर्माण हुन लागेको फिल्ममा अभिनेतामा आर्यन सिग्देल हुने चर्चा थियो । तर, हालै आर्यनले फिल्मको नेपाली रिमेकमा आफू नभएको स्पष्ट पारेका छन् । यसबीच, फिल्मका लागि निर्देशकको टुंगो लागेको छ ।
‘अर्जुन रेड्डी’ को नेपाली भर्सनलाई माघ २४ मा रिलिज हुने फिल्म ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । युवा फिल्मस् र ‘दुई रुपैयाँ’ फिल्म निर्माण कम्पनी जी २१ फिल्मस्ले मिलेर निर्माण गर्ने फिल्मका लागि केही दिनअघि ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्स र युवा फिल्मस्बीच अमेरिकामा अधिकार खरिद बिक्रीमा सम्झौता भएको हो ।
‘अर्जुन रेड्डी’ का निर्माता प्रणय रेड्डी र निर्देशक सापकोटा अमेरिकामा एउटै कलेजमा पढेका हुन् । उनीहरुको एकअर्कासँग राम्रो सम्बन्ध छ । युवा फिल्मस्भन्दा अगाडि विशालले निर्माता सुवास गिरीसँग मिलेर ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बनाउन लागेका थिए । तर, नेपाली भर्सनभन्दा अगाडि हिन्दी भर्सन प्रदर्शन हुने भएपछि निर्माता गिरीले हात झिकेपछि फिल्म बन्न सकेको थिएन ।
.jpg)
तर, विशाललाई निर्माता रेड्डीले अरुलाई फिल्मको नेपाली राइट्स नदिने वचन दिएका दिए । युवा फिल्मस्ले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक अधिकार पाउनुमा पनि विशालकै ठूलो भूमिका छ । उनकै आग्रहमा प्रणयले १६ लाख नेपाली रुपैयाँमा फिल्मको नेपाली रिमेक अधिकार दिएका हुन् । उनी ‘अर्जुन रेड्डी’ र हिन्दी भर्सन ‘कबीर सिंह’ का निर्देशक सन्दिप रेड्डीका भाई हुन् ।
स्रोतका अनुसार, निर्देशक सापकोटाले आफूले निर्देशन गर्ने सर्तमा युवा फिल्मस्लाई फिल्मको नेपाली रिमेक अधिकारका लागि चाँजोपाँजो मिलाएका थिए । तर, यो कुरा उनी स्वीकार गर्दैनन् । फिल्ममा निर्देशकको टुंगो लागेपछि अब अभिनेता र अभिनेत्रीमा को हुनेछन् भन्ने चासो सुरु भएको छ । फिल्मका लागि अभिनेतामा निर्माण टिमको पहिलो रोजाई आर्यन सिग्देल हुन् ।
अभिनेता आर्यनले आफ्ना केही निकट फिल्मकर्मीसँग आफूले नयाँ फिल्म विशालसँग गर्न लागेको बताएको जानकारी प्राप्त छ । तर, गएको शुक्रवार उनले फेसबुकमा एक स्टाटस लेख्दै ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा आफू नभएको बताएपछि फिल्ममा अभिनेतालाई लिएर अन्योल सृजना भएको छ । यद्यपि, निर्माण टिम आर्यनलाई मनाउनका लागि प्रयास गरिरहेको बुझिएको छ ।

