सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने अभिनेता हुन्, विपिन कार्की । फिल्म ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ को भूमिका निर्वाहा गरेपछि एकाएक लाइमलाइटमा आएका उनी अहिलेका सर्वाधिक डिमान्डेड र व्यस्त अभिनेतामध्ये एक हुन् । जुनसुकै प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनको फिल्म पिच्छे भूमिका र गेटअप फरक-फरक हुने गरेको छ ।
फिल्मको हिरो हुन ६ फिट हाइट भएको ह्यान्डसम अनुहार, वजनदार आवाज र फिट बडी हुनुपर्ने मान्यता भत्काएका अभिनेता विपिन पछिल्लो समय हिरो अर्थात् हिरोइनसँग रोमान्स गर्दै देखिन थालेका छन् । तर, डनदेखि दलितसम्मको भूमिकामा आफूलाई फिट राखेका उनी पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’ मा देखिएका थिए । यो फिल्म हिट भएपछि उनको माग झनै चुलिएको छ ।
अभिनेता विपिनको नयाँ फिल्म ‘सेल्फी किङ’ यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अघिल्ला फिल्मझैँ उनी यसमा पनि भिन्न भूमिका र गेटअपमा देखिएका छन् । फिल्ममा उनी टेलिभिजन हास्यकलाकारको भूमिकामा छन् । फिल्मको टिजर, ट्रेलर र पोस्टरमा देखिएको उनको भिन्न लुक्सले धेरैको ध्यान खिचेको छ । फिल्ममा उनी जोकरको हुलियामा देखिएका छन् ।
 01.jpg)
विशाल सापकोटा निर्देशित फिल्मको ट्रेलरमा विपिनले सेलिब्रेटीको स्टारडमलाई लिएर बोलेको एक संवाद अहिले हिट भैरहेको छ । ट्रेलरमा उनले भनेका छन्, ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी, फ्रेम भन्ने कुरा छ नी मुतको न्यानो जस्तो मात्र हो । एकछिन तातो हुन्छ मज्जा आउँछ । एकछिन पछि घिन लाग्न थाल्छ । गन्हाउँछ ।’ धेरैले यो संवादलाई तीतो यथार्थ भनेका छन् ।
के अभिनेता विपिनलाई पनि स्टारडम भनेको मुतको न्यानो नै लाग्छ ? एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘फिल्ममा त मैले लेखेको कुरा बोलेको हुँ । साँचो कुरा र मलाई लागेको कुरा मैले गर्ने फिल्ममा हुँदैनन् । मेरो विचारमा स्टारडम मुतको न्यानो भन्ने कुरा यथार्थ नै हो । स्टारडम एउटै विन्दूमा सधैं टिकिरहँदैन । तर, यो संवाद कसैलाई होच्याउनका लागि भनिएको चाहिँ होइन ।’
फिल्मको प्रशंग अनुसार यो संवाद राखिएको उनको भनाई छ । उनी सेलिब्रेटीको स्टारडम नटिक्नुको कारण मानिस अजम्बरी नहुनुलाई मान्छन् । उनी भन्छन्, ‘मानिस जन्मिएपछि मर्नुपर्छ । संसारमा कोही अजम्बरी छैन । त्यसैले एउटा कुरा सधैं भइरहँदैन । कुनै कुराको सुरुवात हुन्छ भने त्यसको अन्त्य पनि हुन्छ । त्यही भएर स्टारडम सधैं एकै विन्दूमा रहँदैन । एकदिन ध्वस्त हुन्छ ।’
‘प्रसाद’ का निर्माता सुवास थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको ‘सेल्फी किङ’ मा एक हास्यकलाकारको तीन दिनको कथा फिल्ममा उतारिएको छ । फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि नेपाल, जीवन भट्राई लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा निर्देशक सापकोटाकै कथा भने सुसन प्रजापतिको छायांकन छ ।

