Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

च्यारिटी शोमा रुचाइयो ‘कोपिला’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/25
 
कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार हेटौंडाको एन. एस सिनेमा हलमा च्यारिटी शो गरिएको छ । फिल्मको च्यारिटी शोमा निर्मलाकी आमा दुर्गादेवीसहित फिल्मका कलाकारहरु उपस्थित थिए । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ । 
 
मकवानपुर जागरण अभियानले आयोजना गरेको फिल्मको च्यारिटी शोमा स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई आभार पत्रसहित नगद पचास हजार प्रदान गरिएको थियो । पन्तलाई फिल्मका निर्देशक अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफ्ले जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । 
 
फिल्मको च्यारिटी शोमा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायत उपस्थित थिए । फिल्ममा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्म भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरिको अभिनयको पनि प्रशंसा भएको छ ।
 
फिल्मले उठान गरेको विषयवस्तुलाई चितवनबासीले मन पराएका छन् । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व.पन्तको कथालाई उठान गरेर फिल्म बनाएकोमा आभार व्यक्त गरे । फिल्मले आम निर्मलाहरुको प्रतिनिधित्व गर्ने उनको भनाई छ । यस्तै, स्व.पन्तकी आमा दुर्गादेवीले फिल्मबाट समाजमा उच्च शिक्षा मिल्ने विश्वास व्यक्त गरिन् ।
 
८० लाखको लागतमा निर्माण भएको ‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ । फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । तर, प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
Most Visited News (monthly)