बलिउडको सबैभन्दा सफल फिल्मको नाम लिइयो भने ‘सोले’ कहिल्यै छुट्दैन । यो फिल्मको निर्देशन गरेका रमेश सिप्पीको २३ जनवरी अर्थात् आज जन्मदिन हो । जुन फिल्मले दर्शकको मनमस्तिष्कमा स्थान बनाएको छ, उक्त फिल्म बनाउनका उनीसँग पैसा समेत थिएन । वर्षौपछि पनि यसका एक एक क्यारेक्टर, डाइलग र गीत मानिसको दिमागबाट हट्न सकेको छैन ।

फिल्ममा अमिताभ बच्चन, जया बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीव कुमार र अमजद खानको अभिनय छ । ‘कितने आदमी थे’ भन्ने संवाद आज पनि हिन्दी फिल्मको सर्वोत्कृष्ट संवाद मानिन्छ । बलिउडको क्लासिकल सुपरहिट मानिने फिल्म ‘सोले’ हेरेर आज पनि मनोरञ्जन लिन्छन् दर्शकहरु । निर्देशक रमेश सिप्पीको जन्मदिनमा जान्नुहोस् ‘सोले’ को बारेमा दश रहस्य :-
१. रमेश सिप्पीले १९७५ मा आएको फिल्म ‘सोले’ तीन करोड लागतमा निर्माण गरेका थिए । यो फिल्मले बक्सअफिसमा यस्तो जादू देखायो कि सबै हैरान भए । आजसम्म पनि फिल्मले करोडौं कमाइरहेको छ । यसको कमाई अहिले पनि जारी छ ।
२. एक इन्टरभ्यूमा रमेश सिप्पीले भनेका थिए, ‘‘सोले’ बनाउनका लागि मसँग पैसा थिएन । मैले आफ्नो पिता जीपी सिप्पीसँग मद्दत मागे । त्यसबेला यो फिल्म तीन करोडमा बनेको थियो । स्टारकास्टमा २० लाख खर्च भएको थियो ।’’
३. फिल्ममा सबैभन्दा चर्चित रोल गब्बर सिंहको भूमिका सबैभन्दा पहिला डेनी डेङजोम्पालाई मिलेको थियो । तर, उनले व्यस्तताका कारण काम गर्न नसकेपछि अमजद खानलाई कास्ट गरिएको थियो ।
४. ‘सोले’ १६ अगस्ट १९७५ मा प्रदर्शनमा आएको थियो । यो त्यस समयको यस्तो पहिलो फिल्म थियो, जुन सय दिनसम्म सिल्भर स्क्रिनमा प्रदर्शन भएको थियो ।
५. फिल्मको सुटिङ बैंग्लोरको रामनगर क्षेत्रमा भएको थियो । फिल्म सुपरहिट भएपछि यस फिल्मका निर्देशक रमेश सिप्पीसँग जोडेर त्यस क्षेत्रको नाम सिप्पीनगर राखियो ।
६. फिल्मको नाम पहिला ‘मेजर साहब’ या ‘एक दो तीन’ राख्ने कुरा भएको थियो । तर, जब फिल्म बन्यो तब यसको नाम ‘सोले’ राखिएको थियो ।

७. ट्रेनको चोरीवाला दृष्य मुम्बईस्थित पूणे लाइनमा २० दिनसम्म सुटिङ गरिएको थियो ।
८. ठाकुरको भूमिका धर्मेन्द्रले गर्न चाहेका थिए । त्यसबेला उनी अभिनेत्री हेमाको प्रेममा थिए । सिप्पीले धर्मेन्द्रलाई ‘वीरूको रोल निभाउँदा तपाईं हेमासँग धेरै देखिनुहुनेछ’ भनेर मनाएका थिए । त्यसबेला सञ्जीव पनि हेमाको प्रेममा थिए । धर्मेन्द्रले चाहेका थिएनन् कि सञ्जीव कुमार स्क्रिनमा हेमासँग रोमान्स गर्दै देखिउन ।
९. रमेश सिप्पीले जयको चरित्र शत्रुघ्न सिन्हालाई प्रस्ताव गरेका थिए । तर, ठूलो स्टारकास्टका कारण उनले फिल्म गर्न मानेनन् । त्यसबेला अमिताभ बच्चन चर्चित स्टार थिएनन् । तर, सलीम-जावेदले ‘जंजीर’ मा उनको कामबाट सन्तुष्ट भएपछि उनीहरुले सिप्पीलाई अमिताभको नाम सिफारिस गरेका थिए ।
१०. फिल्मको अन्तिम सिनमा धर्मेन्द्रले चलाएको गोलीबाट अमिताभ बच्चन थोरैले बाँचेका थिए ।

