.jpg)
यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिए । गएको एक महिनादेखि मनाङको माइनल डिग्री तापक्रममा फिल्मको छायांकन भैरहेको थियो । मंगलवार छायांकन सकिएपछि बुधवार फिल्मको जम्बो टोली काठमाडौं आइपुगेको छ ।
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्मको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले बताए । फिल्मको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको थियो । अब, फिल्मको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने बताइएको छ । तीन करोड लागतमा बनेको फिल्मलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।
मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । फिल्मका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ । ३ हजार ५ सय मिटर उचाइको मनाङमा फिल्मका लागि अधिकांश हिउँ परिरहेको दृश्य कैद गरिएको छ ।
‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको जोडी नव-अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतले पनि अभिनय गरेका छन् ।
फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । चक्रबहादुर चन्द र डम्बरबिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मको बक्सअफिसमा अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘चपली हाइछ ३’ सँग भिडन्त हुँदैछ ।

