एलआर विवेक सापकोटाको निर्देशन रहेको फिल्म ‘कमाण्डर’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता अनुप विक्रम शाही, रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मालगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट सगुन थापा र साधना सिलवालले अभिनयमा डेब्यू गर्दैछन् । फिल्ममा अनुप प्रहरी अधिकृतको भूमिकामा छन् ।
रिलिजको संघारमा मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सापकोटाले फिल्ममा इमान्दार प्रहरी अधिकृतले देश र नागरिकको हिफाजतका लागि के कस्ता परिस्थितिहरु सामना गर्नुपर्छ भन्ने देखाइएको बताए । एकल प्रदर्शनमा आउन लागेको फिल्ममा समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका विषय पनि उठाइएको उनी बताउँछन् ।

‘फिल्ममा भरपुर मनोरञ्जनका साथै देशप्रतिको प्रेम भावलाई समेत प्रस्तुत गरिएको छ,’ निर्देशक सापकोटाले अगाडि भने, ‘फिल्म आमदर्शकले मन पराउनेमा हामी पूर्ण विश्वस्त छौं ।’ नव अभिनेत्री साधना सिलवालले ‘कमाण्डर’ पूर्ण मनोरञ्जक फिल्म भएको बताइन् । पहिलो फिल्ममै सिनियल कलाकारहरुसँग काम गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठानेको बताउँछिन् ।
अर्की डेब्यू अभिनेत्री सगुन पनि यो फिल्मबाट आशावादी छिन् । ‘पहिलो पटक पर्दामा देखिन लागेका कारण नर्भससँगै उत्साहित पनि छु,’ उनले भनिन्, ‘मेरो पहिलो प्रयास दर्शकले स्वीकारिदिनुहुनेछ भन्नेमा विश्वास छ । मैले आफ्नो भूमिकालाई न्याय गर्ने भरपुर प्रयत्न गरेको छु ।’ डेब्यू फिल्ममा सिनियल कलाकारसँग काम गर्दा आफूले धेरै सिक्न पाएको उनको भनाई छ ।
सुपेरियर फिल्मस्को ब्यानरमा विवेक सापकोटाको प्रस्तुति रहेको फिल्मको सह-निर्मातामा सावनजंग राना रहेका छन् । दिव्य सुवेदीले खिचेको फिल्म ‘कमाण्डर’ मा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्माण भएको लामो समयपछि फिल्म प्रदर्शन हुन लागेको हो ।

