Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलोन विना ‘ए मेरो हजुर’ सिरिज असम्भव !

फिल्मीखबर, काठमाण्डौ, 2020/01/22
नाम नै ब्रान्ड बनिसकेको फिल्म ‘ए मेरो हजुर’ को सिरिजका मेरुदण्ड हुन्, अभिनेता सलोन बस्नेत । यो फिल्मको सिरिजले हलमा दर्शक तान्न र बाँध्न सफल हुनुमा उनको भूमिका ठूलो छ । त्यसैले पनि अभिनेत्रीबाट निर्देशन बनेकी झरना थापाले ‘ए मेरो हजुर’ सिरिजमा सलोनको विकल्पमा अरुलाई सोच्न समेत सकेकी छैनन् । अब, उनी विना यो फिल्मको सिरिज असम्भव देखिन्छ । 
 
सलोनलाई पनि ‘ए मेरो हजुर’ सिरिजले ठूलो सहारा दिइरहेको छ । ‘ए मेरो हजुर २’ भन्दा अगाडि लगातार असफल फिल्मले उनको करिअर संकटमा परेको थियो । तर, यो फिल्मले उनलाई नयाँ उचाई दिलायो । फिल्ममा लिड हिरोको रुपमा असफल उनी सहायक भूमिकामा भने गजब जमेका छन् । हिरोको साथीको भूमिकामा देखिँदा उनले असफलता भोग्नु परेको छैन ।
 
 
‘होस्टेल’ बाट अभिनेता अनमोल केसीसँगै लिड रोलमा डेब्यू गरेका सलोन ‘सुश्री सम्पत्ति’, ‘आधा पेज’, ‘बाबु कान्छा’ लगायतका फिल्ममा लिड हिरो बने । तर, यी कुनै फिल्म सफल भएनन् । ‘गाजलु’ र ‘ए मेरो हजुर’ सिरिजमा हिरोको साथीको भूमिकामा देखिँदा भने उनको जति कामको तारिफ अरुको भएन । विशेषगरि, अनमोलसँग उनको केमेस्ट्री दर्शकले रुचाएका छन् । 
 
यसबीच, सलोन फेरि एकपटक अभिनेता अनमोल केसीको साथीको भूमिकामा फिल्म ‘ए मेरो हजुर ४’ मा देखिने भएका छन् । फागुन १३ गतेबाट छायांकन सुरु हुने फिल्ममा उनी ‘हरी’ को भूमिकामा हुने निर्देशक झरना थापाले जानकारी दिइन् । फिल्ममा अनमोलसँग अभिनेत्री सुहाना थापाको जोडी बाँधिनेछ । यसअघि यी दुईले फिल्म ‘ए मेरो हजुर ३’ मा रोमान्स गरेका थिए । 
 
तेस्रो पटक ‘ए मेरो हजुर’ सिरिजमा जोडिएका अभिनेता सलोनले फिल्मलाई लिएर निकै उत्साहित रहेको बताएका छन् । सुहाना फिल्मस्को ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने फिल्मको कथा अघिल्ला सिरिजभन्दा अलग हुने बताइएको छ । अर्को वर्ष २०७७ को दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको फिल्ममा सलोनको प्रवेश भएसँगै कलाकारको लाइनअप बलियो बनेको छ । 
Most Visited News (monthly)