
अभिनेता आयुष्मान खुरानाले गएको दुई वर्षयता लगातार सुपरहिट फिल्मबाट बक्सअफिसमा राज गरिरहेका छन् । गएको वर्ष ‘आर्टिकल १५’, ‘ड्रीम गर्ल’ र र ‘बाला’ जस्ता ब्लकबस्टर फिल्म दिएका उनी यस वर्ष आफ्नो नयाँ फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ र ‘गुलाबो-सिताबो’ लिएर आउँदैछन् । यसबीच, अभिनेता आयुष्मानले आफ्नो फिल्मको सक्सेसको राज खोलेका छन् ।
आखिर कसरी अभिनेता आयुष्मानको हरेक फिल्म हिट हुन्छ भन्ने जिज्ञासा जो कोहीको मनमा छ । यस विषयमा उनले भनेका छन्, ‘म सधैं त्यस्तो फिल्म चुन्छु, जुन थिएटरमा बसेर पूरा परिवारसँग हेर्न मिलोस् । म एक मनोरञ्जक भएको नाताले धेरैभन्दा धेरै व्यक्तिसँग पुर्याउन र उनीहरुलाई मनोरञ्जन गर्न चाहन्छु । म फिल्मले दर्शकलाई आनन्द दिनुपर्छ भन्ने सोच राख्छु ।’
अभिनेता आयुष्मान अगाडि भन्छन्, ‘एक कलाकारको रुपमा दर्शकले तपाईंको फिल्मबाट आनन्द लिन्छन् र विचार-विमर्श गर्न लायक एक सन्देश आफूसँग घर लिएर जान्छन् भने त्योभन्दा आनन्द अरु हुनै सक्दैन ।’ प्रदर्शनको पखाईमा रहेको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ मा आयुष्मान एक समलैंगिक व्यक्तिको भूमिकामा छन् । उनी यो फिल्मले राम्रो बनेको बताउँछन् ।
सोमवार सार्वजनिक भएको यो फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । ट्रेलर कमेडीले भरिएको छ । फिल्ममा अभिनेता आयुष्मानको पार्टनरको रुपमा जीतेन्द्र देखिएका छन् । ट्रेलरमा आयुष्मान आफ्नो प्रेम जीतेन्द्रलाई आफ्नो बनाउने कोशिशमा देखिएका छन् । तर, परिवार र समाज उनको पक्षमा छैन । ट्रेलरमा गजराज राव र नीना गुप्ताको अभिनय पनि गजब छ ।

