फिल्म ‘होस्टेल रिर्टन्स’ बाट सुखद डेब्यू गरेका अभिनेता सुशील श्रेष्ठका पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ सफलताबाट बञ्चित हुँदा सुशीलको करिअर धरमराएको छ । सालिन स्वभावका यी हिरो यस वर्षका लागि दोस्रो फिल्म लिएर आउँदैछन् । आउँदो फागुन २ गते उनी अभिनीत फिल्म ‘लभ डायरिज’ प्रदर्शन हुँदैछ ।
यो फिल्मले आफ्नो करिअरलाई एउटा उचाई दिलाउनेमा अभिनेता सुशील आशावादी छन् । फिल्ममा उनी विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । ‘लभ डायरिज’ मा उनले नव-अभिनेत्री रुविना थापासँग अनस्क्रिन रोमान्स गरेका छन् । सौरभ चौधरी निर्देशित फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो ।
ट्रेलर रिलिज कार्यक्रममा उनलाई पत्रकारले ‘जीवनमा कसैसँग प्रेम रह्यो’ भनेर प्रश्न गरे । जवाफमा अभिनेता सुशीलले प्रेम र ब्रेकअप दुवै भैसकेको बताए । उनलाई पत्रकारले प्रतिप्रश्न गरे- ‘के फिल्म तपाईंको जीवनसँग मेल खान्छ ?’ उनले जवाफमा भने- ‘मेरो जीवनमा घटेका र मैले सिकेका केही कुराहरु फिल्ममा आएको छ । फिल्मको कति ठाउँमा मैले मेरै कथा भेटेको थिएँ ।’
केही समयअघि अभिनेता सुशीलले बाँया हातको हत्केलाभन्दा केही माथि ब्यान्डेज लगाएका थिए । उनले ब्रेकअप भएपछि आफ्नो हात काटेको गाईंगुईं चर्चा चलेको थियो । प्रेममा परेर हात काट्नुभएको भन्ने हल्लामा कति सत्यता छ ? भन्ने पत्रकारको प्रश्नमा उनले अगाडि भने- ‘ब्रेकअप भएपछि हात काटेको होइन । एउटा दुर्घटनामा हात घिसारिएको थियो । त्यसैले चोट लागेको थियो ।’

