आउँदो फागुन २ गतेबाट प्रदर्शन हुने सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाबीचको नोकझोंक, प्रेम, रोमान्स र विछोड देखाइएको छ । ट्रेलरमा अभिनेता सुशीलले बोलेका संवादहरुलाई विशेष स्थान दिइएको छ ।
फिल्मको ट्रेलर साहिल खानले काटेका हुन् । उनी फिल्मका सह-निर्देशक समेत हुन् । केही दिनअघि ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो । टिकटक स्टार प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडासँगै अहिलेकी चर्चित बाल गायिका कमला घिमिरे फिचर्ड गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले निर्माण टिम निकै उत्साहित देखिएको छ ।
प्रेस दिवसमा प्रदर्शन हुने फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी बताउँछन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो फिल्ममा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।
फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी फिल्म राम्रो बनेको बताउँछन् । त्यस्तै, अभिनेत्री रुविनाले फिल्मलाई लिएर उत्साहित रहेको बताइन् ।
ट्रेलर हेर्नुहोस् :-

