
इम्तियाज अलीको निर्देशनमा बनेको लभस्टोरी जनरामा निर्मित फिल्म ‘लभ आज कल’ को ट्रेलर सार्वजनिक भएको छ । चकलेटी ब्वाई कार्तिक आर्यन र अभिनेत्री सारा अली खानको रोमान्टिक केमेस्ट्री देखाइएको यो फिल्म यस वर्षको भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रअरीमा प्रदर्शन हुँदैछ । फिल्मको ट्रेलर सानदार छ । कात्तिक र साराको केमेस्ट्री गजब देखिएको छ ।
फिल्मको ट्रेलर सारा अली र कार्तिक आर्यनको नोकझोकबाट सुरु हुन्छ । फिल्ममा २०२० र १९९० समयको दुई लभस्टोरी देखाइएको छ । आरुषि शर्मा र सारा कार्तिकको लभ लेडी बनेका छन् । दुवै अभिनेत्रीसँग कार्तिकको लभ एङ्गल र लडाई-झगडा ट्रेलरमा देख्न सकिन्छ । कार्तिकको आरुषिसँग जोडी पर्दामा ठिक देखिए पनि सारासँग उनको रोमान्स ओभर एक्टिङ देखिन्छ ।
फिल्मको ट्रेलरमा साराभन्दा आरुषिले इम्प्रेस गर्छिन् । जहाँ सारा बोल्ड र मोर्डन छिन् भने आरुषि साधारण युवती बनेकी छन् । कार्तिक लभरब्वाई टाइप रोलमा छन् । त्यस्तै, फिल्ममा पुरानो गीतलाई रि-एरेञ्ज गरिएको छ । कार्तिक-साराको यो फिल्मको थीम, कहानी र गीतले पहिलो पार्टको याद दिलाउँछ । पछिल्लो ‘लभ आज कल’ सँग तुलाना गर्ने हो भने कहानीमा नयाँपन छैन ।
फिल्ममा सारा, आरुषि र कार्तिकका अलावा अभिनेता रणदीप हुड्डाको पनि प्रमुख भूमिका छ । यो फिल्म २००९ मा आएको अभिनेता सैफ अली खान र अभिनेत्री दीपिका पादुकोणको सुपरहिट फिल्म ‘लभ आज कल’ को सिक्वेल हो । रोमान्टिक कमेडी ड्रामाले दर्शकको मन जितेको थियो । निर्देशक इम्तियाज अलीले ‘लभ आज कल’ को सिक्वेलमा टाइटलमा बदलाव गरेका छैनन् ।
ट्रेलर हेर्नुहोस् :-

