जाडो महिनामा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताहरु हत्तपत्त अगाडि सर्दैनन् । चिसो मौसममा दर्शक फिल्म हेर्न हलसम्म नपुग्ने उनीहरुको सोचाइ छ । त्यसैले पुष र माघ महिनामा निकै कम फिल्म रिलिज हुने गरेका छन् । यस वर्ष पनि जाडोको डरले पुष महिनाभरी नेपाली फिल्म नै प्रदर्शन भएनन् । सलमान खानको फिल्म ‘दबंग ३’ पछि नेपाली हल नेपाली फिल्मविहीन भए ।
मल्टीप्लेक्सलाई नेपाली फिल्म प्रदर्शन नहुँदा पनि समस्या छैन । किनभने, वर्षमा एकाध नेपाली फिल्म मात्र मल्टीप्लेक्समा राम्रो चल्ने गर्दछन् । विशेषगरि मल्टीप्लेक्समा दर्शकहरु विदेशी फिल्म हेर्न रुचाउँछन् । पुष महिनामा नेपाली फिल्म नचल्दा हलिउड र बलिउडका ठूला फिल्मले मल्टीप्लेक्सलाई ठूलो राहत दियो । तर, सिंगल हलहरु भने बन्द हुने अवस्थामा पुगेका छन् ।
कलाकारको अनुहार नै नचिनिने सिंगल हलको पर्दामा दर्शकहरु विदेशी फिल्म हेर्न रुचाउँदैनन् । त्यसैले सिंगल हलहरु नेपाली फिल्मकै भरमा चल्नुपर्ने बाध्यता छ । तर, पुष महिनाभरी नेपाली फिल्म प्रदर्शन नहुँदा केही हलमा ताला लागेको छ । अघिल्ला वर्षहरुमा माघे संक्रान्तिमा फिल्म चलाउन ठूलो राजनीति हुन्थ्यो । तर, यो वर्ष माघे संक्रान्तिमा पनि हलहरु सुनसान भए ।

मल्टीप्लेक्समा एक महिनायता विदेशी फिल्मको दबदबा छ । गएको हप्ता प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म ‘तानाजी’ र ‘छपाक’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । सिंगल हलहरु पनि यी विदेशी फिल्म चलाउन बाध्य छन् । यसबीच, शुक्रबारबाट एक महिनापछि हलमा नेपाली फिल्म ‘१२ सत्ताइस’ प्रदर्शनमा आएको छ । यो फिल्म विना प्रचार प्रदर्शनमा उत्रिएको हो ।
सम्भवतः यो फिल्म हलमा लागेको समेत दर्शकलाई पत्तो छैन । यसकारण यसले बक्सअफिसमा गतिलो व्यापार गर्ने सम्भावना कम छ । त्यसमाथि फिल्ममा चिनिएका कोही कलाकार छैनन् । फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय छ । तर, कहिले काहिँ नपत्याउने खोलाले पनि बगाउँछ भनिन्छ । ‘१२ सत्ताइस’ बगाउने खोला सावित होला या नहोला ? त्यो भने हेर्न बाँकी छ ।
जोन योञ्जन निर्देशित फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल ,काजि राना, अस्मिता लामिछाने, समरान्त थापा, अभोनराज उप्रेती, भिष्म जोशीलगायतका कलाकारको अभिनय छ । फिल्म ३ जना युवा बेरोजगारको कथामा बनेको हो । ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्मित फिल्म रेणु राना, दीपक खतिवडा र रुपक थापाले मिलेर बनाएका हुन् ।
अहिले सबैको ध्यान माघ २४ मा अडिएको छ । यो मितिमा दुई प्रतिक्षीत फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ प्रदर्शन हुँदैछन् । यी दुई फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई चयानमान बनाउने अपेक्षा गरिएको छ । साथै, फागुन ९ गते प्रदर्शन हुन लागेको ‘सेन्टी भाइरस’ र ‘आमा’ सँगै फागुन २३ गते प्रदर्शन हुने ‘म यस्तो गीत गाउँछु २’ प्रति पनि ठूलो आशा र अपेक्षा छ ।

