Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गंगाजल’ निर्देशक झा नेपाल आउने

फिल्मीखबर, काठमाडौं, 2020/01/16
 
सुपरहिट बलिउड फिल्म ‘गंगाजल’ का निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुँदै आइरहेको ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’ को तेस्रो संस्करणमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । आउँदो फागुन १ देखि ५ गतेसम्म हुने फेस्टिभलको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । 
 
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली फिल्मसँग सम्बन्धित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बोल्दै वरिष्ठ कलाकार नीर शाहले ‘निफ’ ले नेपाली फिल्मको प्रवद्र्धनमा मद्दत गरेको बताए । विदेशी जुरीले नेपाली फिल्ममार्फत नेपाललाई चिन्न र बुझ्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे । 
 
त्यस्तै, राज्यमन्त्री मानन्धरले आफू नेपाली फिल्मसँग जोडिएकोले सदैव सहयोग गर्ने बताए । नेपाली फिल्ममार्फत राष्ट्रियतालाई विषयवस्तु बनाउँदै दर्शकसम्म लैजान पनि उनले फिल्मकर्मीलाई आग्रह गरे । फेस्टिभलका अध्यक्ष केपी पाठकले यसपटक नेपाली फिल्मकर्मीका लागि डिजिटल मार्केटको सम्भाव्यतालाई मध्यनजर गर्दै नेटफ्लिक्स प्रतिनिधि समेत आउने जनाए ।
 
‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारासहित हुन लागेको फेस्टिभलमा कथानक फिल्मको निर्णायक मण्डलको नेतृत्व भारतीय निर्देशक झाले गर्नेछन् । फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइने कार्यक्रममा जानकारी गराइयो । दर्ता आह्वान गरिएकोमा ५५ देशको ६०० फिल्मले आवेदन दिएको समेत नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) का अध्यक्ष केपी पाठकले बताए ।
Most Visited News (monthly)