Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेशको फर्काइ कहिले ?

फिल्मीखबर, काठमाण्डौ, 2020/01/16
एक समय लभस्टोरी फिल्ममा निकै खोजिने अभिनेता थिए, रमेश उप्रेती । राजेश हमाल र भुवन केसीको बलियो उपस्थिति रहँदा नेपाली फिल्ममा प्रवेश गरेका उनले छोटो समयमै आफूलाई बलशाली अभिनेताको रुपमा प्रमाणित गरे । फिल्म ‘रगत’ बाट भिलेनको रुपमा डेब्यू गरेका उनले ‘करोडपति’, ‘पराई घर’, ‘घर संसार’, ‘धर्मसंकट’ लगायत थुप्रै यादगार फिल्म दिएका छन् । 
 
देशमा माओवादी द्वन्द्व चर्किएको समयमा रमेश सफलताको उत्कर्षमा थिए । तर, सशस्त्र द्वन्द्वका कारण नेपाली फिल्म निर्माण हुन कम भएपछि प्रायः कलाकार बेरोजगार भए र पारिश्रमिक ७० प्रतिशतले घट्यो । देशको अवस्थाले रमेशको करिअरमा ठूलो बाधा पुग्यो । र, उनी परिवारसहित २०६३ सालमा अमेरिका हानिए । त्यहाँ उनले ७ वर्ष विताए र २०७० सालमा नेपाल फर्किए । 
 
 
अमेरिकाबाट फर्किएपछि उनले केशव भट्टराईले निर्माण गरेको फिल्म ‘ब्रासलेट’ बाट कमब्याक गरे । यो फिल्मबाट उनी आफ्नो पुरानो क्रेज फर्किनेमा विश्वस्त थिए । तर, फिल्मले हलमा घुँडा टेक्यो । ‘ब्रासलेट’ नचलेपछि अरु निर्माताले उनलाई फिल्ममा लिने आँट गरेनन् । र, उनले आफैं फिल्म बनाउने कम्मर कसे । उनले २०७५ सालमा आफैंले निर्माण गरेको फिल्म हो ‘ऐश्वर्य’ ।
 
यो फिल्मबाट रमेशलाई घाटा र नाफा दुवै भएन । न त उनको अभिनयको नै प्रशंसा भयो । तर, उनी ‘ऐश्वर्य’ हिट भएको दाबी गर्छन् । यो फिल्मपछि रमेशलाई दर्शकले पर्दामा हेर्न पाएका छैनन् । गएको वर्ष उनले ‘ऐश्वर्य’ को सिक्वेल बनाउने मिडियामार्फत घोषणा गरेका थिए । तर, यो फिल्म निर्माण हुन सकेको छैन । योभन्दा अगाडि उनले अर्को नयाँ फिल्म गर्ने बताएका थिए । 
 
यस वर्षको बैशाखबाट छायांकन सुरु हुने बताइएको फिल्मका लागि भन्दै उनले दाह्री समेत बढाएका थिए । तर, अहिलेसम्म यो फिल्म पनि निर्माण हुन सकेको छैन । फिल्मको विषयमा कुराकानी हुँदा उनी स्क्रिप्टमा काम भैरहेको रेडिमेड जवाफ फर्काउँछन् । धेरै समय पर्दाबाट टाढा हुँदा दर्शकका लागि कलाकार विरानो हुन्छन् भनिन्छ । रमेशलाई पनि दर्शकले विर्सिने त होइनन् ?
Most Visited News (monthly)