‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने फिल्म ‘माइकल अधिकारी’ को छायांकन सुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर बुधवार झापाको विर्तामोडबाट फिल्मको छायांकन सुरु भएको हो । छायांकन सुरु गर्नुभन्दा अगाडि निर्माण टिमले फिल्मको नाम अंकित केक काटेर सेलिव्रेसन गरेको थियो । रञ्जित रौनियारले फिल्मको निर्देशन गर्नेछन् ।
.jpg)
सेरोगेसीको कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ । फिल्मलाई आउँदो चैत २८ गते प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।
छायांकन सुरु भएसँगै निर्माण टिमले सौगात र सृष्टिको लुक्स पनि सार्वजनिक गरेको छ । प्राप्त तस्विरमा रातो कुर्था सुरुवाल लगाएकी अभिनेत्री सृष्टिको सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा पोते देखिएको छ । त्यस्तै, सौगातले टाउकोमा नक्कली कपाल (विग) लगाएका छन् । दुईको लुक्स हेर्दा फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहने अनुमान गर्न सकिन्छ ।
‘माइकल अधिकारी’ मा उनीहरु आर्थिक अवस्था कमजोर भएको जोडीको रुपमा देखिँदैछन् । फिल्ममा सृष्टिले पैसाका लागि अरुलाई बच्चा जन्माउने विवाहित महिलाको भूमिका निर्वाहा गर्दैछिन् । अभिनेता सौगातले यसमा आफू अहिलेसम्मकै भिन्न अवतारमा देखिन लागेको बताए । त्यस्तै, अभिनेत्री सृष्टिले यो फिल्मबाट आफूले काम देखाउने अवसर पाएको बताइन् ।
.jpg)
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् भने निर्माता निरक पौडेल हुन् । विर्तामोड र इलाममा खिचिने फिल्ममा राजु बिक्रम थापाको छायांकन, निर्देशक रञ्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

