Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

किन बनेन रमितको ‘राजा साहेब’ ?

फिल्मीखबर, काठमाण्डौ, 2020/01/12
एक समयका डिमान्डेड अभिनेता रमित ढुंगाना गएको झण्डै ४ वर्षदेखि सेतो पर्दामा देखिएका छैनन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘बुद्ध वर्न इन नेपाल’ हो । केही समय उनी यो फिल्मको च्यारिटीका लागि देश तथा विदेश दौडिए । यस वर्ष उनले ‘राजा साहेब’ नामक फिल्म साइन गरेका थिए । यसका लागि १८ लाख पारिश्रमिक लिएको खबरले उनको निकै चर्चा भयो ।
 
गएको साउनमा फिल्मको औपचारिक निर्माण घोषणा गरिएको थियो । फिल्ममा रमितको जोडी सोनिका केसी र आइशा राईसँग बाँधिएको थियो । तर, निर्माण घोषणा भएको झण्डै ५ महिना हुँदासम्म पनि फिल्मको छायांकन सुरु भएको छैन । फिल्म निर्माण गर्न अगाडि सरेका निर्माताले छायांकन सुरु हुने समयमा हात झिकेपछि ‘राजा साहेब’ निर्माण हुन नसकेको जानकारी प्राप्त छ । 
 
 
शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्माता र चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहने फिल्मको घोषणा कार्यक्रममा जनाइएको थियो । तर, निर्माताबीच लगानीको कुरामा मनमुटाव भएपछि फिल्म छायांकनमा नजाँदै थन्कियो । बिचल किराँतीले निर्देशन गर्ने भनिएको फिल्मका लागि अहिले नयाँ निर्माताको खोजी भैरहेको स्रोत बताउँछ । 
 
तर, रमितको फिल्ममाथि लगानी गर्न कोही निर्माता अगाडि सरेका छैनन् । एक समय उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप चल्थ्यो । उनी भएपछि फिल्मले राम्रो व्यापार गर्ने विश्वास उनीहरुमा थियो । तर, अहिले उनको क्रेज कमजोर भैसकेको छ । यसकारण पनि उनको फिल्ममा लगानी गर्ने निर्माता भेटिएका छैनन् । फिल्मका लागि उनले दाह्री र कपाल समेत बढाएका थिए । 
 
‘राजा साहेब’ ले आफ्नो करिअर पुनः उत्कृर्षमा पुर्‍याउने रमितको ठूलो विश्वास थियो । तर, फिल्म निर्माण हुन नसक्दा उनी १८ लाख पारिश्रमिक बुझेको चर्चामै सीमित हुनु परेको छ । आइतबार आफ्नो जन्मदिन मनाइरहेका उनी अब आफ्नै लगानीमा फिल्म निर्माण गर्न लागेको जानकारीमा छ । उनले पृथ्वीनारायण शाहको जीवनीमा फिल्म बनाउने चर्चा चलेको पनि धेरै भैसकेको छ ।
Most Visited News (monthly)