करीब १८ वर्षसम्म प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर निर्माण भैरहेको फिल्मको एक गीतमा नेपाली फिल्मका चर्चित अनुहारहरुलाई नृत्य गर्दै देख्न पाइने भएको छ । रामकृष्ण ढकाल र मेलिना राइको स्वर रहेको ‘ए जदौ माया जदौ’ गीतमा दर्जन बढी कलाकारहरु नाचेका छन् । गीतमा दिपक शर्माको संगीत र आनन्द अधिकारीको शब्द छ ।
.jpg)
केही दिनदेखि छायांकन भैरहेको गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार द्वय जीतु नेपाल, केदार घिमिरे, नायिका नम्रता श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री गौरी मल्ल, निर्देशक दिनेश डीसीसँगै फिल्मका प्रमुख कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मालगायत पनि देखिनेछन् ।
गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । विवाहमा सेलिब्रेटीहरु उपस्थित हुँदाको माहोललाई गीतमा उतारिएको छ । साकार पन्त निर्देशित यो फिल्म कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुमा आधारित छ ।
निर्देशक साकारले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उनी कलाकार सन्तोष पन्तका छोरा समेत हुन् । सन्तोष सन्त र साकार पन्तको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् । फिल्मलाई रवि सायमी खिचिरेहका छन् भने गीतमा हर्कुलस बस्नेतको संगीत भरेका छन् । फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्कीको पनि प्रमुख भूमिका छ ।

एक समयको सर्वाधिक सफल हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ बाट जन्मिएका केदार घिमिरे, जितु नेपाल, दीपकराज गिरीलगायत थुप्रै कलाकारहरु अहिले सफलताको उत्कर्षमा छन् । फिल्ममा पनि सन्तोष पन्तले उनीहरुलाई लिन चाहेका थिए । तर, आफ्नो समुहभन्दा बाहिरको फिल्म नगर्ने भन्दै उनको प्रस्ताव अस्वीकार गरे । गीतमा भने कलाकार पन्तले दीपाश्री, केदार र जितुलाई नचाउन सफल भएका छन् । यो गीतबाट निर्माण टिमले निकै आश बोकेको छ ।

