सन् २०१४ मा गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र सात फिल्म निर्माण गर्ने घोषणा गरेको थियो । जस अन्तर्गत ‘होमवर्क’, ‘रोज’, ‘पर्व’ र ‘ठमेल डटकम’ निर्माण र प्रदर्शन भैसकेका छन् । तर, यी कुनै फिल्म सफल नहुँदा गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र सात फिल्म निर्माण गर्ने लक्ष्य पूरा गर्न सकेन । अब भने गोपीकृष्ण मुभिज बाँकी रहेका तीन फिल्म निर्माण गर्न कस्सिएको छ ।
अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठलाई लिएर सेरोगेसीको मुद्धामा बन्ने ‘माइकल अधिकारी’ गोपीकृष्ण मुभिजको सात फिल्ममध्ये पाँचौ प्रोजेक्ट हो । यो फिल्मको आउँदो माघ पहिलो साताबाट छायांकन सुरु हुँदैछ । त्यस्तै, गोपीकृष्णले छैटौं प्रोजेक्टको रुपमा २०६४ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पर्खि बसें’ को सिक्वेल निर्माण गर्ने भएको छ ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खि बसें’ निर्माण गर्न लागेको हो । गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटाबीच विहिबार सहमति भएको छ । फिल्ममा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । फिल्मलाई सौभर चौधरीले निर्देशन गर्नेछन् ।
निर्देशक चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘पर्खि बसें’ को कथा उनी आफैंले लेखेका छन् । पहिलो सिरिजझैँ दोस्रोमा पनि सांगीतिक प्रेमकथा देखाइने उनले बताए । अभिनेता द्वय राजबल्लभ कोइराला र निखिल उप्रेतीसँगै अभिनेत्री युना उप्रेतीको प्रमुख भूमिका रहेको ‘पर्खि बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए ।
फिल्मलाई प्रदर्शन गर्ने अधिकार करण श्रेष्ठ अर्थात् रिच इन्टरटेनमेन्टले पाएको छ । फिल्मको कास्ट एण्ड क्रियू एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको रिलिज २०७७ सालमा हुनेछ । ‘पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको सिक्वेल दर्शकमाझ आउन लागेको हो । फिल्ममा पुराना कलाकार दोहोरिने सम्भावना न्यून छ ।

